नेपालीलाई विदेश लैजानेबीच हानाथाप
दुबईस्थित नेपाली म्यानपावर सञ्चालकहरूबीच चर्किएको द्वन्द्व चर्केको छ । उतै म्यानपावर खोलेर नेपालीहरूलाई युरोप र क्यानाडा पठाउन सक्रिय नेपालीहरुबीच चर्केको आपसी द्वन्द्वले ठूलै रुप लिएको बताइन्छ ।
द्वन्द्वरत म्यानपावर सञ्चालकहरू पटक–पटक विवादमा तानिएका छन् । ब्लु ओसन कन्सल्टेन्सीका सञ्चालक सरोज विष्ट समूहले अर्का व्यवसायी रमेश श्रेष्ठविरुद्ध विभिन्न खालका प्रयास गरेको आरोप छ ।
श्रेष्ठले दुबई जीसीडी नामक म्यानपावर सञ्चालन गर्दै आएका छन् । उनी एनआरएनए यूएईका पूर्व अध्यक्षसमेत हुन् । विष्ट र श्रेष्ठबीच व्यावसायिक कारणले द्वन्द्व चर्किएको दुबै पक्ष निकटको बुझाई छ ।
श्रेष्ठले नेपालका केही मिडियामार्फत ब्लु ओसनविरुद्ध निरन्तर समाचार छपाएपछि विष्टले उनीमाथि रिसबी साँधेको स्रोतको दाबी छ । श्रेष्ठमाथि ‘काफ्ले ग्याङ’ का गुण्डा प्रयोगको तयारी गरे पनि काफ्ले स्वयम् दुबईमै थिए ।
उनीविरुद्ध समाचार लेखेको आरोपमा दरबारमार्गस्थित एउटा अनलाइन मिडियाको कार्यालयमा समेत तोडफोडको प्रयास गरिएको बताइन्छ । विष्ट माओवादी निकट मानिन्छन् ।
पछिल्लो समय यूएईमा रहेका नेपाली व्यवसायीहरुबीच विभिन्न कन्सल्टेन्सीको नाममा युवाहरूलाई युरोप,अमेरिका, अष्ट्रेलिया पुर्याउने चर्को प्रतिस्पर्धा छ । उनीहरूले सामाजिक सञ्जालको प्रयोग गरेर भिजिट भिसामा दुबई पुगेका नेपालीलाई निशाना बनाउने गरेको पाइएको छ ।
यसबारे रमेश श्रेष्ठ भन्छन्, ‘ती सबै निराधार हुन् । मेरो कसैसँग कुनै पनि खालको विवाद छैन । विदेशमा रहेका नेपाली व्यवसायीहरुबीच अनावश्यक विवाद उत्पन्न गराएर नीहित स्वार्थ पूरा गर्न तम्सिएकाहरुको खेल मात्रै हो ।’
टिप्पणीहरू