बढ्दो सार्वजनिक ऋणको जोखिममा ध्यान दिन महासंघ अध्यक्षको सुझाव

बढ्दो सार्वजनिक ऋणको जोखिममा ध्यान दिन महासंघ अध्यक्षको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऋणमा बढ्दो निर्भरताले मुलुकको आर्थिक स्थायित्वमा ठूलो जोखिम ल्याउने बताएका छन् । संयुक्त राष्ट्रसंघले अर्थ मन्त्रालय र महासंघको सहकार्यमा आयोजना गरेको ‘विकासका लागि वित्तसम्बन्धी संवाद’ कार्यक्रममा उनले मुलुकको सार्वजनिक ऋण बढेकाले त्यसले जोखिम निम्त्याउनसक्ने धारणा राखेका हुन्।

प्रत्यक्ष विदेशी लगानी मुलुकको जीडीपीको ०.२ प्रतिशत मात्र भएको उल्लेख गर्दै उनले विभिन्न मुलुकबाट प्राप्त हुने अनुदान घट्दा विगत नौ वर्षमा दोब्बर ऋण देखिएको बताए । नेपाल अतिकम विकसित मुलुकको श्रेणीबाट माथि उठेकाले आगामी दिनमा अनुदान र सहुलियत ऋण उल्लेखनीय रुपमा घट्नेतर्फ सचेत गराए ।

उनले मुलुकको दिगो विकासलाई अगाडि बढाउन सरकार र संयुक्त राष्ट्रसंघजस्ता विकास साझेदारहरुबीच साझेदारी आवश्यक रहेको पनि औंल्याए । विकासका लागि वित्त पोषणमा केन्द्रित हुनुपर्ने र व्यापक छलफल गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘व्यवसाय फस्टाउन र राष्ट्रको विकासमा योगदान पुर्याउन सक्ने वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्रबीच संवादको आवश्यकता छ ।’

त्यसैगरी उनले विदेशी लगानी भित्र्याउन निजी क्षेत्रले गरिरहेका प्रयासबारे पनि जानकारी गराए । गत वर्ष भारत, चीन र युएईमा गरिएको लगानी प्रवद्र्धन कार्यक्रमबाट राम्रै उपलब्धि प्राप्त भएको बताए । अर्को महिना हुने प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणको क्रममा पनि त्यस्तै कार्यक्रम गर्ने योजना महासंघको छ ।

टिप्पणीहरू