भासिएका र भ्वाङ परेका राजधानीका सडक उच्च जोखिमको संकेत
काठमाडौं उपत्यकाका सडक कतै भासिने र कतै भ्वाङ पर्ने क्रम बढेसँगै यात्रामा जोखिम बढेको छ । पछिल्लो केही समययता एक्कासी सडक भासिने र ठूला भ्वाङ पर्ने घटना बढेका हुन् । विशेषगरी बर्खामा एउटा खाल्डो पुर्न नपाउँदै अर्को ठाउँमा भ्वाङ पर्दा सर्वसाधारण त्रसित देखिन्छन्।
गत आइतबार संघीय संसद भवननजिकै बानेश्वरको सडकमा भ्वाङ पर्यो । बानेश्वर चोकबाट शंखमुल जाने सडकको बीचमा भ्वाङ परेपछि केही समय सवारी आवागमन समेत प्रभावित हुन पुग्यो । काठमाडौं महानगरपालिकाले उक्त भ्वाङ टालिसकेको छ।
महानगरका अनुसार सडकमुनि खानेपानीको पाइप चुहिँदा भ्वाङ परेको हो । यसअघि गत साउन ३० गते ललितपुरको महालक्ष्मी नगरपालिका–३, स्थित नयाँ पुल–बाझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा ठूलै भ्वाङ परेको थियो । सडकको झण्डै तीन मिटर क्षेत्र भासिएपछि घण्टौँ सवारी आवागमन अवरुद्ध भयो । पछि ललितपुर महानगरपालिकाले सडक टालेपछि समस्या केही समयको लागि टर्यो।
काठमाडौं महानगरपालिका कार्यालय अगाडिकै सडक साउन २४ गते भासियो । दरबारमार्गबाट काठमाडौं प्लाजा निस्कने बीच बाटोमै भ्वाङ परेको छ । उक्त सडकमुनिबाट टुकुचा खोला बग्छ । तर अहिलेसम्म सडक मर्मत भएको छैन । मर्मतका लागि अझै केही समय लाग्ने जानकारी दिइएको छ ।
सडक भासिएपछि महानगरका मेयर बालेन्द्र साहले खोलामाथि पुल बनाएपनि घर र बाटो बनाउन नहुने टिप्पणी गरे। ‘मान्छेले आवश्यकताअनुसार खोलामाथि कतैकतै पुल बनाउनुपर्छ, खोलामाथि घर र बाटो होइन,’ उनले सामाजिक सञ्जालमा लेखे तर मर्मत थालेनन् ।
डेढ महिनाअघि सोह्रखुट्टेबाट बालाजुतर्फ जाने नयाँ बजारको सडकमा परेको खाल्डोमा मोटरसाइकलसहित चालक खसे । उनी जसोतसो खाल्डोबाट निस्किए । मोटरसाइकल भने झण्डै तीन घण्टापछि काठमाडौं महानगर र सशस्त्र प्रहरी बलको टोलीले करिब ११ फिट गहिरो खाल्डोबाट क्रेनले तानेर निकालेको थियो।
गत माघमा नयाँ बानेश्वर चोकस्थित एक यात्रुवाहक बस गुड्दागुड्दै सडक भासिएपछि चक्का सडकमा फस्यो र कोल्टे पर्यो । त्यसअघि २०७८ कात्तिकमा पनि सिभिल अस्पतालअगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो । यी घटनाक्रमले काठमाडौं उपत्यकामा सडक भासिनु, प्वाल पर्नु, खाल्डो वा भ्वाङ पर्नु सामान्य भइसकेको छ।
झन् बर्खायामसँगै उपत्यकामा यस्ता घटना बढ्ने गरेको छ । उपत्यकाका सडकमा जताततै सानाठूला खाल्डाखुल्डी र भ्वाङ परेको देखिन्छ । हिँड्दाहिँड्दै वा गुड्दागुड्दै कतिखेर कुन खाल्डोमा परिने डरले आमनागरिक त्रसित हुने गरेका छन् । सडकमा यात्रा गर्दा पाइलैपिच्छे जोगिनुपर्ने अवस्था उत्पन्न भएको छ।
अर्कोतर्फ, सडक भासिने क्रम बढेसँगै त्यसको गुणस्तरमाथि समेत प्रश्न उठ्न थालेको छ । विकासमा अगाडि मानिएको उपत्यकाका सडकको यो हालतले ग्रामीण सडकको अवस्थाबारे सोच्न बाध्य बनाएको छ । मुलुकको राजधानीजस्तो ठाउँमा दिनहुँ सडक भासिने र भ्वाङ पर्नाले सामाजिक सञ्जाल समेत तातेको छ ।
आखिर उपत्यकाका सडकहरु किन भासिरहेका छन् ? किन भ्वाङ परिरहेका छन् ? विज्ञहरुका अनुसार सडक निर्माण गर्दा गरिने चरम लापरबाही र विकासे मोडलाई ख्याल नगरी जथाभावी काम गर्नाले यस्तो समस्या निम्तिएको हो ।
सडकमुनिको अव्यवस्थित काम प्रमुख कारणः सडक विभाग
सडक विभागका महानिर्देशक रामहरि पोखरेल उपत्यकाका सडक भासिनु वा भ्वाङ पर्दै जानुमा सडकमुनिको अव्यवस्थित कामलाई देखाउँछन् । उनी भन्छन्, ‘सडकमुनि नै खानेपानीको पाइपदेखि ढल, बिजुलीका तार जोडिएका छन् । कहिले ढलको पाइप फुट्दा सडक बिग्रिन्छ त कहिले पानीको ।’ अहिले विद्युतीय तारहरु पनि भूमिगत गर्न लागिएकाले यस्ता घटना झन् बढेको उनको दाबी छ ।
‘विद्युत प्राधिकरणले तारहरु भूमिगत गर्ने काम गरिरहेको छ । मेलम्ची खानेपानीको पाइप पनि सडकमुनि नै जोडिएको छ । यसले गर्दा पनि सडक भासिने तथा भ्वाङ पर्ने घटना बढेका हुन्,’ महानिर्देशक पोखरेलले भने । उनले काठमाडौं महानगरको कार्यालयअगाडि भासिएको सडक मर्मतका लागि ठेक्का आह्वान गरिएको जानकारी दिए । तर, उक्त सडक मर्मत हुन अझै तीन महिना लाग्ने पोखरेलको भनाइ छ । ‘सडक मर्मतका लागि ठेक्का आह्वान भइसकेको छ,’ उनले भने, ‘ठेक्का प्रक्रिया पूरा हुन करिब डेढ महिना लाग्छ । अर्को डेढ महिनाभित्र सडक मर्मत गरिसक्ने हाम्रो योजना छ ।’
जमिनबारे बुझेर मात्र संरचना बनाउने अनुमति आवश्यक
खानी तथा भूगर्भ विभागकी प्रवक्ता मोनिका झा उपत्यकाका सडक भासिनुमा एउटा मात्र कारण नरहेको बताउँछिन् । यसबारे विभागले अध्ययन नगरेपनि पछिल्लो समय उपत्यकामा सडक भासिनुका बढ्दो घटनामा जथाभावी बनाइएको संरचना, मानिसको बढ्दो चाप, सडक निर्माणमा लापरबाही तथा सडकमुनि विभिन्न सामग्री राखिनुलगायत कारण रहेको उनको भनाइ छ ।
‘एउटै कारणले मात्र सडक भासिँदैन । सडक भासिनुका धेरै कारण हुन्छ । उपत्यकाको सडक भासिनुमा जनघनत्व बढ्नु, सडक निर्माणमा लापरबाही गरिनु, सडकमुनि खानेपानी, ढल, बिजुलीको पाइप र लाइन जोड्नु प्रमुख कारण छन्,’ प्रवक्ता झाले भनिन्, ‘अर्कोतर्फ, खोलाहरु मासेर बनाइएका संरचनाका कारण पनि सडक भासिएको देखिन्छ ।’
उपत्यकाको सतह बालुवाको मिश्रणबाट बनेकाले बर्खामा जमिनभित्र सजिलै पानी पस्ने हुँदा माटो बगेर जाने र सडक भासिने गरेको उनको तर्क छ । यसरी सडक भासिँदा त्यसमाथि बनेका संरचना पनि जोखिममा पर्ने उल्लेख गर्दै प्रवक्ता झाले जमिनको अवस्था बुझेर मात्र भवन निर्माण गर्न आग्रह गरिन् ।
‘हामीले केही वर्षअघि नै यी सबै जोखिमलाई देखेर यो ठाउँमा संरचना बनाउन मिल्छ र यो ठाउँमा मिल्दैन भनेर सम्बन्धित सबैलाई सचेत गराएका थियौं । तर, पछिल्लो समय उपत्यकामा नदी, खोला नै मासेर संरचना बनाइएको छ । यस्तो अवस्थामा माटो खुकुलो हुँदा वर्षाको समयमा जुनसुकै बेला पनि त्यस्ता संरचना भत्किन सक्छन्,’ उनले भनिन्, ‘त्यतिबेला ठूलो धनजनको क्षति हुनसक्छ । यसका लागि सम्बन्धित निकायहरु सजग हुन आवश्यक छ।’
उनले स्थानीय तहहरुले पनि भवन निर्माणका लागि सोचविचार गरेर मात्र अनुमति दिनुपर्ने बताइन् । भनिन्, ‘अहिले जुन ठाउँ जोखिमयुक्त मानिएको छ, त्यहि ठाउँमा भवन निर्माण गरिएको पाइन्छ, त्यो पनि स्वीकृति लिएर । यसबाट तत्काल कुनै समस्या नदेखिएपनि भविष्यमा ठूलो क्षति हुनसक्छ । त्यसैले, स्थानीय तहहरुलेसमेत जमिनको अवस्थाबारे बुझेर मात्र संरचना बनाउन अनुमति दिनुपर्यो ।’
टिप्पणीहरू