बागमतीको जलसतह खतराको बिन्दुमा, सतर्क रहन आग्रह
लगातारको वर्षाका कारण बागमती नदीमा जलसतहले खतराको तह पार गरेको छ । गौरीघाट जलमापन केन्द्रका अनुसार गौरीघाट क्षेत्रमा जलसतहले सीमा नाघेको हो ।
जलसतह बढेसँगै बागमती करिडोरका नागरिकलाई उच्च सतर्कता अपनाउन जलमापन केन्द्रले आग्रह गरेको छ । ‘बागमती नदी गौरीघाटमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनुहुनेहरू र बागमती कोरिडोर भई यात्रा गर्नुहुनेहरूले उच्च सतर्कता अपनाऔँ’, केन्द्रले भनेको छ ।
त्यस्तै, मौसम पूर्वानुमान महाशाखाले पनि कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, राप्ती, बबई लगायतका नदीहरुमा बहाब बढिरहेको कारण आसपासका नागरिकहरुलाई सतर्क हुन आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज काठमाडौँसहित ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, पर्वतलगायतका जिल्लामा धेरै वर्षा हुने सम्भावना छ ।
टिप्पणीहरू