परीक्षामा जालझेल गर्नेहरु लोकसेवाको फेल

परीक्षामा जालझेल गर्नेहरु लोकसेवाको फेल

नेपाली सेनाको सैन्य पदमा लोकसेवा आयोगद्धारा लिइएको लिखित परीक्षामा अनियमितता गर्ने चार परीक्षार्थी निलम्बनमा परेका छन् । 

सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाअन्तर्गत परीक्षा सञ्चालन शाखाले उनीहरुको परीक्षा रद्द गरेको हो । परीक्षाको मर्यादाविपरीत गर्ने उनीहरुलाई एकदेखि दुई वर्षसम्म आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नदिने निर्णय पनि भएको छ । 

आयोगका अनुसार बर्दियाका शैलेन्द्र यादव, जाजरकोटका कृष्णबहादुर थापा, सर्लाहीका जगदिशकुमार चौधरी र धनुषाका प्रवेज आलम शेष यस्तो कारबाहीमा परेका हुन् । शैलेन्द्रले परीक्षामा चिट चोरेको, कृष्णले प्रश्नपत्रसहित बाहिर गएर मोबाइलबाट उत्तर सारेको,  जगदिशले मूल कापीको अन्तिम पाना रफ गर्न भनी च्यातेको र प्रवेजले क्यालकुलेटर प्रयोग गरेको पाइएको आयोगले जनाएको छ । 

कृषि विकास बैंकको लेखापाल पदको लिखित परीक्षामा अनियमिता गर्ने एक जनालाई पनि निलम्बनको कारबाहीमा परेका छन् । उत्तरपुस्तिका आफूसँगै लिएर गएका सर्लाहीका भरत साहमाथि कारवाही भएको हो । उनलाई एक वर्षका लागि आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सामेल हुन नपाउने गरी निलम्बन गरिएको छ ।

टिप्पणीहरू