डेढ लाखको राहत बाँड्न मन्त्रीहरुको लस्कर
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको थामेमा बाढी पीडितलाई राहत बाँड्न कोशी प्रदेश सरकारका मन्त्रीहरुको लस्कर लागेपछि आलोचना शुरु भएको छ । डेढ लाख रुपैयाँ बराबरको राहत सामग्री बोकेर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी,खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीसहित झण्डै डेढ दर्जनको जम्बो टोली पुगेको छ ।
उनीहरु प्रदेश सरकारको तर्फबाट ५० थान सिरक, ५० थान तन्ना,५० थान म्याट्रेस र ५० थान सिरानी लिएर अस्ति त्यहाँ पुगेका थिए । सामान प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई सदरमुकाममा हस्तान्तरण गरिएको छ । थोरै सामान त्यो पनि सदरमुकाममा बुझाउन जम्बो टोली पुगेपछि अधिकांशले त्यसलाई ‘स्टण्टबाजी’ को संज्ञा दिएका छन् ।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘अन्धो सरकार ! बाढीले जनताको घरबास उजाडेको छ । यिनीहरुचाँहि स्टन्टबाजी गर्नमै व्यस्त छन् ।’ त्यस्तै, अर्काले भनेका छन्,‘गज्जब गरेछन् नि ! अब पेट भोको भए पनि ओड्नलाई कमी नहुने भो ।’
राहत सामाग्री हस्तान्तरणपछि सोलुमै बसेको टोली हिजो ओखलढुंगा पुगेको थियो । त्यहाँ केही कार्यालयको निरीक्षण र अन्तरक्रियापछि खोटाङको हलेसीमा बास बसेको टोलीले आज सदरमुकाम दिक्तेलको निरीक्षण गर्ने कार्यक्रम छ ।
त्यसपछि टोली भोजपुर र धनकुटा हुँदै विराटनगर फर्किने बुझिएको छ । गत शुक्रबार दिउँसो हिमपोखरी फुट्दा थामे खोलामा अचानक आएको बाढीबाट ५० घरपरिवार विस्थापित भएको छ । त्यस्तै, विद्यालय र स्वास्थ्य चौकी पनि बगाएको छ । प्रतिकूल मौसमका कारण त्यहाँ अझैपनि राहत पुर्याउन नसकिएको जिल्ला प्रशासनको भनाई छ ।
टिप्पणीहरू