सिक्किम सरकारका सूचना अब नेपाली भाषामा

सिक्किम सरकारका सूचना अब नेपाली भाषामा

भारतको सिक्किम सरकारले सरकारी सूचना र राजपत्रहरु नेपाली भाषामा पनि प्रकाशित गर्ने निर्णय गरेको छ । त्यहाँको गृह विभागले अबदेखि आधिकारिक सूचना र राजपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गरिने जानकारी दिएको हो । 

विभागले आज सूचना जारी गर्दै सिक्किम आधिकारिक भाषा ऐन, १९७७ ले नेपाली भाषालाई आधिकारिक भाषाको रुपमा मान्यता दिएको जनाएको छ । भारतको संविधानले पनि नेपाली भाषालाई सूचिकृत गरेकाले त्यसको प्रयोगलाई अनिवार्य गरिएको विभागको भनाइ छ । 

सिक्किमे जनताको सांस्कृतिक सम्पदा र पहिचानमा नेपाली भाषाको महत्वलाई उचित रुपमा स्वीकार गर्दै सरकारी सूचना र सेवाहरुमा समान पहुँच सुनिश्चित गर्नका लागि सो निर्णय गरिएको सूचनामा उल्लेख छ । 

‘सिक्किमे जनताको सांस्कृतिक सम्पदा र पहिचानमा नेपाली भाषाको महत्वलाई उचित रुपमा स्वीकार गर्दै पारदर्शिता प्रवर्द्धन गर्न सिक्किमका सबै नागरिकहरुलाई सरकारी सूचना र सेवाहरुमा समान पहुँच सुनिश्चित आवश्यक छ’,सूचनामा भनिएको छ,‘अब त्यसपछि यस संवैधानिक जनादेशलाई पुरा गर्ने एउटा पहलको दिशामा राज्य सरकारले अबउसो, सबै आधिकारिक अधिसूचनाहरु र राजपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गर्ने निर्णय लिएको छ ।’

सन् १९९२ अगस्ट २० मा भारतको संविधानको धारा ३४४ (१) ले नेपाली भाषालाई आठौँ अनुसूचीमा समावेश गरेको थियो । भारतका नेपाली भाषी नागरिकहरुले सो दिनलाई नेपाली भाषा मान्यता दिवसको रुपमा मनाउँदै आएका छन् ।

टिप्पणीहरू