जनप्रतिनिधिले पत्रकारलाई 'सिध्याइदिने' धम्की दिएकोप्रति महासंघको चासो

जनप्रतिनिधिले पत्रकारलाई 'सिध्याइदिने' धम्की दिएकोप्रति महासंघको चासो

प्रकाशित समाचारको विषयलाई लिएर सिराहाका एक जनप्रतिनिधिले पत्रकारलाई धम्की दिएको घटनाप्रति पत्रकार महासंघले चासो व्यक्त गरेको छ । 

सिरहा शाखाका सदस्यसमेत रहेका पत्रकार मुकेश यादव (स्वामी)लाई समाचार लेखेकै आधारमा धाकधम्कीसहित मार्ने धम्की दिएको भन्दै महासंघले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको हो । 

महासंघले आज जारी गरेको विज्ञप्तिमा गत साउन २३ गते सुप्रिम खबर अनलाइन, न्यूज कारखाना र प्राइम टेलिभिजनमा सम्प्रेषित समाचारलाई लिएर धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले धम्क्याएको उल्लेख छ । समाचार मेटाउन दबाब दिँदै उनले ‘त दुई कौडीको पत्रकार समाचारको तथ्य प्रमाणित गर्न नसके जे पनि हुन सक्छ’ जस्ता स्तरहीन शब्दको प्रयोग गरेकोप्रति महासंघले आपत्ति प्रकट गरेको छ  । 

‘समाचारको विषयलाई लिएर सिरहास्थित धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले गालीगलौज गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ,‘सुप्रिम खबर अनलाइन, न्यूज कारखाना र प्राइम टेलिभिजनमा २०८१ साउन २३ गते सम्प्रेषित समाचारलाई लिएर पत्रकार यादवलाई नगरपालिका प्रमुख महतोले समाचार मेटाउन दबाब दिँदै त दुई कौडीको पत्रकार समाचारको तथ्य प्रमाणित गर्न नसके जे पनि हुनसक्छ भनि धम्कीपूर्ण भाषा प्रयोग गर्दै गालीगलौज गरेको महासंघ सिरहा शाखाले जनाएको छ ।’

समाचारप्रति चित्त नबुझेमा त्यसउपर कानुनी उपचारमा जान सकिने वा प्रेस काउन्सिलमा उजुरी गर्न सक्ने विकल्प हुँदाहुँदै सो किसिमको व्यवहार गरिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको महासंघको ठहर छ । त्यस्तै, महासंघले पत्रकारलाई सुरक्षित र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।


 

टिप्पणीहरू