‘प्रेस कार्ड’ दुरुपयोग गर्नेलाई कारबाहीको चेतावनी
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘प्रेस कार्ड’ कोे दुरुपयोग गर्ने पत्रकारलाई कडा कारबाहीको चेतावनी दिएका छन् । विद्यार्थीसँग मिडिया अभिमुखीकरण कार्यक्रममा उनले पछिल्लो समय प्रेस पासको दुरुपयोग बढिरहेको जनाउँदै उक्त धारणा राखेका हुन् ।
समाज तर्साउन र धम्क्याउन नभई सिर्जनात्मक कार्यका लागि हतियारका रुपमा प्रेस परिचयपत्र उपलब्ध गराइने हुँदा त्यसको सदुपयोग गर्न अध्यक्ष बस्नेतको आग्रह छ ।
‘डाक्टरको हातमा भएको चक्कु गलत प्रयोग गरिए के हुन्छ ?,’ उनले भने, ‘मिडियाको प्रेस पास पनि त्यस्तै हो । पत्रकारिताको हितमा समर्पित गर्न पत्रकारलाई प्रेस पास दिइएको हो ।’
यस सम्बन्धमा काउन्सिलले छानबिन समेत गरिरहेको जानकारी दिँदै अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा आएका सूचना र सञ्चार माध्यमका समाचारले आम मानिसमा अन्यौलता र समस्या सिर्जना गरेको पनि बताए । ‘यसले मिडिया साक्षरता समाजका लागि आवश्यक भएको उनको भनाइ छ । पत्रकार र सञ्चार माध्यमलाई मात्र होइन, अहिले सूचना प्रविधिको कारण मिडिया साक्षरता समाजका लागि पनि आवश्यक छ । हामीले फरक छुट्याउन सक्नुपर्छ,’ उनले भने ।
अहिले आम सूचना जसले जहाँबाट पनि दिनसक्ने भएकाले पत्रकारले निर्माणका कुरा, सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई सम्प्रेषण गर्न सक्नुपर्ने उनको ठहर छ ।
टिप्पणीहरू