भ्रष्टाचारमा हदम्यादविरुद्ध भगवानको टोली सडकमा
भ्रष्टाचार मुद्दामा हदम्याद लगाउने प्रस्तावित कानुनविरुद्ध मानव अधिकार तथा शान्ति समाज सडकमा उत्रिएको छ ।
संसदमा विचाराधीन उक्त कानुन ल्याउने प्रमुख दलविरुद्ध भन्दै शान्ति समाज काठमाडौँ शाखाले आज बिहान गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी चोकको सडक किनारामा विरोध प्रदर्शन गरेको हो । समाजको काठमाडौँ शाखाका अध्यक्ष भगवान पुडासैनीको नेतृत्वमा भएको प्रदर्शनमा तीन दर्जनजति सहभागी थिए ।
सडक किनारमा उभिएर मौनरुपमा बिरोध जनाएका प्रदर्शनकारीले 'सुशासन प्रत्याभूती गर, नागरिक निरासालाई आशामा अनुवाद गर', 'हाम्रो आन्दोलन भ्रष्टाचार मुक्त समाज निर्माणका लागि', 'हदम्यादकाे कसरत संसदलाई बदनाम गराउने अभ्यास', 'सांसद भ्रष्टचारीलाई जाेगाउने चलखेल बन्द गर', 'भ्रष्टाचारीलाई दण्डित गर्ने कानुन बनाऊ', 'भ्रष्टाचारविरुद्ध प्रभावकारी कानुन बनाऊ', 'भ्रष्ट नेताहरुलाई चाडाे समाऊ', 'नीतिगत भ्रष्टाचारकाे श्रृङखला अन्त्य गर' लेखिएका ब्यानर र प्ले-कार्ड प्रदर्शन गरे ।
केपी शर्मा ओली अघिल्लोचोटि प्रधानमन्त्री भएका बेला संसदमा प्रस्तुत भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाइसक्नुपर्ने प्रावधान राखिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको विधेयकको उक्त प्रावधानलाई लिएर सर्वत्र चिन्ता र चासो प्रकट भैरहेको छ ।
टिप्पणीहरू