टिआरसीविरुद्ध बानेश्वरमा जुलुस
संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधयेक सच्चाउन माग गर्दै द्वन्द्व पीडितहरुले प्रदर्शन गरेका छन् ।
साउन ३० गते प्रतिनिधिसभा बैठकबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित भइसकेकाे छ । विधयेक राष्ट्रिय सभाबाट पनि पारित गर्ने तयारी छ ।
तर, द्वन्द्व पीडितहरुले भने प्रतिनिधि सभाबाट पारित भएको विधेयकलाई राष्ट्रिय सभामा सच्याउन माग गर्दै आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । विधेयक संशोधन गरी पीडितमैत्री बनाउनुपर्ने प्रदर्शनकारीको मुख्य माग रहेको छ ।
पीडकलाई उन्मुक्ति दिने प्रावधानहरु संशोधन गर्नुपर्ने, सत्य न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नुपर्ने, संक्रमणकालनी न्यायसम्बन्धी कानुन सर्वोच्चको फैसलाअनुरुप हुनुपर्ने, पीडितको आवाजलाई बेवास्ता गर्न नहुने लगायतकाका माग उनीहरुले राखेका छन् । त्यस्तै, दण्डहीनतालाई पश्रय दिने विधयेक स्वीकार्य नहुने उनीहरुको बताएका छन् ।
प्रदर्शनमा द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल, राष्ट्रिय स्मृति सञ्जाल, माओवादी पीडित राष्ट्रिय सङ्घर्ष समिति, बेपत्ता परिवार समाज, नेपाल द्वन्द्व प्रभावित सरोकार केन्द्र, न्यायका लागि द्वन्द्वपीडित समाज, द्वन्द्व व्यवस्थापन तथा विस्थापित सरोकार केन्द्र, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, अपाङ्गता भएका द्वन्द्व पीडितहरूको राष्ट्रिय सञ्जाल लगायतका संगठनहरु सहभागी छन् ।
टिप्पणीहरू