सम्पदा पुनःनिर्माणपूर्व स्वीकृति अनिवार्य

सम्पदा पुनःनिर्माणपूर्व स्वीकृति अनिवार्य

काठमाडौं महानगरपालिकाले प्राचीन स्मारक र पुरातात्विक सम्पदाहरु पुनःनिर्माणपूर्व सरोकारवाला निकायको अनिवार्य स्वीकृति लिन निर्देशन दिएको छ । 

सबै वडा कार्यालयलाई पत्राचार गर्दै महानगरले नगर क्षेत्रको इन्भेन्ट्रीमा उल्लेख भएका पुरातात्विक महत्वका मठमन्दिर, सत्तल, ढुंगेधारालगायतको पुनःनिर्माण र मर्मत गर्दा पुरातत्व विभागको स्वीकृति लिन भनेको हो । 

त्यस्तै, जग्गाको स्वामित्व गुठीअन्तर्गत भए गुठी संस्थानको स्वीकृति लिन सूचित गराइएको छ । महानगरले पुनःनिर्माण तथा मर्मत गर्दा सिमेण्टको प्रयोग गर्न रोक लगाएको छ । महानगरका अनुसार चुना, सुर्खीको प्रयोग गर्नुपर्नेछ । 

प्राचीन स्मारक र पुरातत्वसम्बन्धी ऐतिहासिक वा कलात्मक वस्तुहरुको संरक्षणको निमित्त बनेको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र नियमावली २०४६ बमोजिम निर्माण कार्य गर्नुपर्ने महानगरले स्पष्ट पारेको छ । 

त्यसैगरी, अबदेखि वडाले कुनै निर्माण गर्नुअगाडि योजना कार्यान्वयनको जानकारी महानगरको सम्पदा तथा पर्यटन विभागलाई गराउनुपर्नेछ ।

टिप्पणीहरू