प्रहरीलाई अन्तरिम आदेश, सीधा कुराविरुद्धको निर्णय पछि

प्रहरीलाई अन्तरिम आदेश, सीधा कुराविरुद्धको निर्णय पछि

सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाश दिने व्यवस्था तत्काललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसमेत २१ जनाले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उक्त आदेश दिएको छ । श्रेष्ठलगायतका प्रहरी अधिकृत तथा कर्मचारीहरु यहि भदौमा विद्यमान नियमानुसार अवकाशमा जानुअघि सर्वोच्चको उक्त आदेश आएको हो ।

यता रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी निकट ‘सीधा कुरा डट कम’ मा सार्वजनिक ‘डार्क फाइल’ भन्दै फेक अडियो सार्वजनिक गरेका राजकुमार तिमिल्सिना, सञ्चालक युवराज कँडेल र सम्पादक नवीन ढुंगानाविरुद्धको मानहानी सम्बन्धी मुद्दामा सर्वोच्चले आज पनि निर्णय सुनाएन । प्रधानन्यायाधीशसहित नौ जना न्यायाधीशको बृहत पूर्ण इजलासले निर्णय सुनाउने तारिख पछिलाई सारेको छ ।

उनीहरुविरुद्ध यसअघि जिल्ला अदालत काठमाडौंमा विद्युतीय कारोवार ऐनअन्तर्गत फौजदारी मुद्दा दायर भएको छ । तीमध्येका तिमिल्सिनालाई हिजो राति प्रहरीले पक्रेको थियो ।

तिमिल्सिनाले सर्वोच्चका तत्कालीन वरिष्ठ न्यायाधीश डा.आनन्दमोहन भट्टराई समेतको नाम जोडेर अख्तियारको स्टिङ अप्रेसनसम्बन्धी मुद्दा मिलाउन सेटिङ गरेको भन्दै फेक अडियो बनाएका थिए । सोही अडियो कँडेल र ढुंगानाले सीधा कुरा डटकम र युट्युबबाट सार्वजनिक गरेका हुन् ।

उनीहरुले अदालत र न्यायाधीशको मानहानी गरेको भन्दै सर्वोच्च अदालतमा परेको अभिव्यक्ति स्वतन्त्रता र अदालतको अवहेलनासम्बन्धी संवेदनशील मुद्दामा आज पनि फैसला सुनाइएन । सर्वोच्चले निर्णय सुनाउन भदौ २० गतेलाई अर्को पेशी तोकेको छ ।

टिप्पणीहरू