काठमाडौंमा खोज्न थालियो गरिब घरपरिवार
काठमाडौंमा गरिब घरपरिवारको तथ्याङ्क संकलन कार्य अन्तिम चरणमा पुगेको छ । गरिब घरपरिवार पहिचान गरी परिचयपत्र वितरण गर्न काठमाडौँ महानगरले चैत २० गतेदेखि थालेको तथ्याङ्क संकलन कार्य अब पूरा हुन लागेको बताइएको छ ।
उक्त कार्य अन्तिम चरणमा पुगेको जनाउँदै महानगरले गणनामा छुटेकालाई यही भदौ १५ गतेभित्र सम्बन्धित वडा कार्यालयमा जानकारी गराउन पनि भनेको छ । ‘सो कार्य हाल अन्तिम चरणमा पुगेकोले काठमाडौं महानगरपालिकाभित्र स्थाई तथा अस्थाई रुपमा बसोबास गरिरहनु भएको र गणना कार्यमा छुट हुनु भएमा यही भद्रौ १५ गतेभित्र सम्बन्धित वडा कार्यालयमा जानकारी गराउनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ ।
महानगरले गरिब परिचयपत्र वितरण गरेपश्चात् सामाजिक सुरक्षालगायत राज्य वा गैरराज्य पक्षबाट प्रदान गरिने सेवा पहुँच सुनिश्चित गर्ने बताएको छ । त्यस्तै, गरिबी निवारणका अन्य कार्यक्रम सञ्चालन गर्न लक्षित समूह पहिचान गर्ने, जोखिम समूह पहिचान तथा जोखिम न्यूनीकरण गर्ने, महानगरको योजना तथा नीति निर्माणमा सहयोग गर्ने र आवश्यकता पहिचान गरी कार्यक्रम कार्यान्वयनमा सघाउ पुर्याउने पनि महानगरको गरिब परिवार पहिचान कार्यक्रममा समेटिएको छ ।
टिप्पणीहरू