तीजमा तडकभडक गरे कारवाही

तीजमा तडकभडक गरे कारवाही

जिल्ला प्रशासन कार्यालय, कास्कीले तीजमा तडकभडकका कार्यक्रम नगर्न सतर्क गराएको छ । 

तीज मनाउने नाममा खर्चिला तथा सामाजिक सद्भावनामा असर पुर्याउने खालका भड्किला कार्यक्रम हुन थालेको उल्लेख गर्दै प्रशासनले चाडको मौलिकतामाथि आँच आउने कुनैपनि किसिमका क्रियाकलाप नगर्न भनेको हो । 

आज सूचना प्रकाशित गर्दै सिडियो कार्यालयले राति अबेरसम्म होटल तथा पार्टी प्यालेसमा कार्यक्रम नगर्न, गरगहना र ध्वनि प्रदर्शन नगर्न सूचित गराएको छ । त्यस्तै, आफ्नो धर्म, संस्कृति, परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिन, संरक्षण र सम्बर्द्धन गर्न मितव्यापी तरिकाले चाडपर्व मनाउन सुझाइएको छ ।

‘पछिल्लो समय तीजको मुख्य दिन आउनुभन्दा निकै अगाडिदेखि विभिन्न संघसंस्थाको नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने, गरगहना प्रदर्शन र ध्वनि प्रदूषण हुनेगरी सांस्कृतिक कार्यक्रम गर्दा तीजको मौलिकतामाथि आँच आउने एवं विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न जाने हुन्छ’,सूचनामा भनिएको छ,‘त्यसैले आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तर दिने तथा सम्बर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खर्चिला तथा सामाजिक सद्भावमा असर पुर्याउने खालका भड्किला कार्यक्रम तथा क्रियाकलापहरु सञ्चालन नगर्न नगराउनुहुन सम्पूर्ण जिल्लाबासीहरुमा जिल्ला प्रशासन कार्यालय, कास्की अनुरोध गर्दछ ।’

कसैले सूचनाको बर्खिलाप हुने गतिविधि गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

टिप्पणीहरू