मुलुककै उत्कृष्ट पालिकाको सामान्य जनसेवा

मुलुककै उत्कृष्ट पालिकाको सामान्य जनसेवा

शंकर श्रेष्ठ

स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली (लिजा) मा नगरपालिका र गाउँपालिका दुबैतर्फ धादिङ मुलुककै उत्कृष्ट बनेको छ । नगरपालिकातर्फ जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ पृथ्वीराजमार्ग जोडिएको बेनीघाटरोराङ गाउँपालिका सर्वाधिक अंकसहित उत्कृष्ट घोषित भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारण गरेको स्वमूल्याङ्कन प्रणाली (लिजा) एउटा परीक्षा हो । एकसय वटा सूचकहरुमा आधारित मूल्याङ्कनको आधारमा देशभरका नगरपालिका र गाउँपालिकामध्ये नीलकण्ठले ९२.५० र बेनीघाट रोराङले ८७ अंक पाएको छ । 

आर्थिक वर्ष २०७९÷०८० मा भएका कामहरुको आधारमा नीलकण्ठ नगरपालिकाले ९२.५० अंक ल्याएर देशकै उत्कृष्ट नगरपालिका बनेको मेयर भीमप्रसाद ढुंगानाले जानकारी दिए । सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहिता, प्रवाहित सेवा, सूचनाको हकलगायत विभिन्न सूचकमा नगरपालिकाले उत्कृष्ट नजिता ल्याएको छ’ उनले भने, ‘जनप्रतिनिधि, कर्मचारीको काम र नगरबासीको सुझाव तथा उत्प्रेरणाले नीलकण्ठ नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका बनेको छ ।’ 
पछिल्लो उत्कृष्ट नतिजाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रहरुमा थप परिष्कृत गर्न उत्साह थपेको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताए । ‘भौतिक पूर्वाधार विकास निर्माण, न्याय निरुपणलगायत क्षेत्रमा काम गर्ने सवालमा प्रदेश सरकार, संघीय सरकार तथा विभिन्न संघ संस्थासँगको समन्वयमा काम भइरहेको छ । यो सम्मानले नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई थप हौसलासँगै आगामी दिनमा थप परिस्कृत हुुन र गर्न उत्प्रेरण मिलेको छ’, उनले भने ।

‘लिजामा उत्कृष्ट अंक हासिल गर्नु सम्पूर्ण रूपमा सम्पन्न र पूर्वाधारयुक्त हुनु होइन । तर सीमित साधन स्रोतमा विधिसम्मत तरिकाले उत्कृष्ट नतिजा हासिल गर्नु स्थापित हुनु हो’ नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी भन्छन्, ‘यो मूल्याङ्कन स्थानीय तहहरूले गर्नैपर्ने र गरेका महत्वपूर्ण कार्यहरूको समग्र मूल्याङ्कन हो । स्थानीय तहको क्षमता मापन गर्ने यो विश्वासिलो आधारमा नगरपालिकाले पाएको उत्कृष्ट स्थानले हामी सबैको शीर उँचो बनाएको छ ।’

विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहितालगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनले उत्कृष्ट गाउँपालिका बन्न सफल भएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) को भनाई छ । देशैभरको उत्कृष्ट गाउँपालिकाको रुपमा छनौट हुनुले जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवारी बोध गराएको उनले बताए । 

स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयन, श्रोत साधनको उच्चतम सदुपयोग, सुशासन, आर्थिक पारदर्शिता, जवाफदेहितालगायतको क्षेत्रमा भएका कामले गाउँपालिका उत्कृष्ट बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेको बुझाई छ । जनप्रतिनिधि र कर्मचारीको राम्रो टिम र जनताको साथले गाउँपालिकालाई यो सम्मान मिलेको उनले बताइन् ।

कागजीरुपमा मात्रै उत्कृष्ट भनिएको तर आम नागरिकले उत्कृष्ट पालिकाको महशुस गर्न नपाएको गुनासा पनि सुनिएका छन् । उत्कृष्ट नगरपालिकाकै विषयमा स्थानीयले यदाकदा सामाजिक सञ्जालमा व्यङ्ग्यमिश्रित धारणा लेख्ने गरेको पाइन्छ । 
 

टिप्पणीहरू