बेल्जियममा सीताको मनपरी, बुथ क्याप्चर गर्नेलाई अनुशासनको भारी

बेल्जियममा सीताको मनपरी, बुथ क्याप्चर गर्नेलाई अनुशासनको भारी

जहाँ सीता त्यहाँ लफडा, अर्थात् सीता सापकोटा छिरेको संस्था तहसनहस भइहाल्छ भन्ने आमबुझाइ एक पटक फेरि प्रमाणित भएको छ । नेपाली जनसम्पर्क समितिलगायत नेपाल र बेल्जियमका विभिन्न संघसंस्थामा भाँडभैलो मच्चाएकी सीताका कारण एनआरएनए पनि भताभुङ्ग भएको जनाउँदै अभियन्ताहरुले चिन्ता जनाएका छन् ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीताले आफ्नै महासचिव रुविना शर्मालाई उमेर कम भएकै कारण खेदो खनेर पाखा लगाउन कुनै कसर बाँकी नराखेको एकथरीको बुझाई छ । २५ वर्षमा एनआरएनए बेल्जियम महासचिव निर्वाचित भएर रुविना एनआरएनए इतिहासमै सबैभन्दा कान्छी पदाधिकारी बनेकी थिइन् । संघमा दोस्रो पुस्ताको आगमन हुँदा विश्वभर चर्चामात्र भएको थिएन, संघ पुस्तान्तरणको आशा पनि गरिएको थियो । 

तर, ‘बाँदरको हातमा नरिवल’ भनेझैं सीताले संस्थालाई खोक्रो बनाउंदै लगेको बताइन्छ । त्यहाँको नेपाली समाज छिन्नभिन्न भइसकेको छ । रुविनालगायत कार्यसमितिका धेरैजसो पदाधिकारी र युवा पुस्ता सीताको रवैयाका कारण बैठकमा समेत जान आनाकानी गर्न थालेका हुन् । 

निर्वाचित महासचिवलाई एक्ल्याउने सीताको रवैयाले त्यहाँको एनआरएनएमा भाँडभैलो भएको छ । चुनावका बेला लगाएको ‘युवालाई प्रोत्साहन, महिलालाई सम्मान’ भन्ने उनैको नारा खोक्रो भएको छ । ‘महासचिव रुविनाले संस्थागत सुधारका लागि केही बोल्दा भर्खरकीले मलाई सिकाउने भनेर सीतालाई ज्वरो आइहाल्दो रहेछ’ एक पदाधिकारीले सुनाए, ‘विधि विधान विपरित काम गरेको भन्दै सीताले रुविनालाई निलम्बन गर्न मनपरी गरेपछि संस्थामा ध्रुवीकरण आयो ।’

गतसाता पनि तमासा भयो । १९ अगष्ट सोमबार गैरआवासीय नेपाली संघ बेल्जियमको १८औं वार्षिक साधारणसभा तय गरिएको थियो । उक्त साधारणसभामा एकातिर अध्यक्ष सापकोटा र अर्कोतिर महासचिव शर्मा फरक फरक कित्तामा उभिए । 

साधारणसभाका लागि अध्यक्ष र महासचिवले छुट्टाछुट्टै पत्राचार गरे तर कार्यक्रम स्थान एकै ठाउँमा थियो । अध्यक्षले महासचिवलाई वार्षिक प्रतिवेदन प्रस्तुत गर्न नदिने अडान लिएपनि महासचिवले प्रतिवेदन तयार गरेर पहिल्यै सार्वजनिक गरिदिइन्, सबै पञ्जीकृत सदस्यले साधारण सभामा निमन्त्रणा पाउनुपर्ने भन्दै निमन्त्रणासहित सुझावका लागि वार्षिक प्रतिवेदन इमेलमार्फत सम्पूर्ण बेल्जियमका पञ्जीकृत सदस्यहरुलाई पठाएको बताइन्छ । 

उनी आफू कसैलाई फकाउनभन्दा पनि काम गर्न आएको भन्दै साधारणसभामा पनि रुविना सक्रिय भइन्, साधारण सभामा हुन लागेको भाँडभैलो ‘हाम्रो पुस्ता द्वन्द्व चाहन्न’ भन्दै रोकेकी थिइन् ।  
महासचिवले विधानबमोजिम प्रतिवेदन पेश गर्न पाउने अधिकारलाई सीताले अंकुश लगाउन खोजे पनि नरोकिएको धेरैले बताए । साधारण सभामा सम्पूर्ण पञ्जीकृत सदस्यले आफ्नो इमेलमा वार्षिक प्रगति प्रतिवेदन पाए । रुविनाको एक वर्षे कार्यकालमा धेरै राम्रा काम भएका थिए । तर सीताले त्यो ‘क्रेडिट’ का लागि आफूभित्रको रुविनाप्रतिको इष्र्याले कहिल्यै नचाहेको धेरैको बुझाइ छ । 

रुविनालाई अनुशासन विपरित काम गरेको भन्दै पूर्व अध्यक्ष प्रेम गुरुङको अनुशासन समितिले कारबाही सिफारिस गरेको प्रकरण झन् हास्यास्पद बनेको छ । गुरुङ उनै हुन् जसले सन् २०२१–२०२३ को कार्यसमिति निर्वाचनमा बुथ क्याप्चर गराउन खोज्दा कुटाकुट हुँदा केही बेल्जियमबासी नेपाली घाइते भएका थिए । उक्त घटनामा परेकामध्ये केही स्वास्थ्यका कारण अझैसम्म काममा समेत राम्ररी जान सकेका छैनन् । 

गुरुङलाई अनुशासन समिति संयोजक बनाएर सीताले कारबाही अघि बढाएपछि संघ थप विभाजित भएको छ । महासचिवलाई पाखा लगाएर वर्ष दिनमा संस्थाभित्र आर्थिक चलखेल गर्न खोजेको खबर पनि सार्वजनिक भएका छन् । आफ्ना मान्छे र क्षेत्री, बाहुन समुदायलाई मात्र काखा र जनजातिलाई पाखा लगाउँदै आएको आरोप थपिएको छ ।

टिप्पणीहरू