जागिर छाडेलगत्तै सशस्त्रका एसपीको काण्ड छताछुल्ल
सशस्त्र प्रहरीको जागिर छाडेका एसपी वीरसिंह शाह भन्ने वीरसिंह साहूविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा चलेको छ । नक्कली प्रमाणपत्रका आधारमा बढुवा हुँदै उच्च पदमा पुगेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
२०५९ चैत ७ गते इन्स्पेक्टरमा बढुवा भएका साहूले केही समयअघिमात्र एसपी पदबाट राजीनामा दिएका थिए । त्यसअघि उनी सशस्त्र प्रहरी नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वाटर बनबेहडा, कैलालीमा कार्यरत थिए । अख्तियारका अनुसार उनले बढुवाका लागि पेश गरेकोे ‘बीए’ तहको प्रमाणपत्र नक्कली पाइएको हो ।
साहूले डा.राममनोहर लोहिया अवध विश्वविद्यालय, फैजावादबाट बीए तह उत्तीर्ण गरेको झुठो प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अख्तियारको दाबी छ । विशेषमा दायर अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ बमोजिम उनीमाथि सजाय माग गरिएको छ ।
टिप्पणीहरू