उपकुलपतिलाई थर्काएको विरोधमा विद्यार्थीहरु सडकमा
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीलाई मार्ने धम्की दिएको जनाउँदै संयुक्त विद्यार्थी संगठन विरोधमा उत्रिएको छ । प्रमुख प्रतिपक्ष माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एस)को अनेरास्ववियू, विप्लव समूहको विद्यार्थी संगठन अखिल समाजवादीलगायत विपक्षी दलसम्बद्ध सात विद्यार्थी संगठनले आज दिउँसो र्यालीसहित विरोध प्रदर्शन गरेका छन् ।
कीर्तिपुरस्थित विश्वविद्यालय प्राङ्गगणमा आयोजित विरोध सभामा विद्यार्थी नेताहरुले घटनाको निन्दा र भत्र्सना गरेका छन् । मानविकी तथा सामाजिक शास्त्र संकायको विभागीय प्रमुख नियुक्ति प्रक्रियामा नेविसंघका नेताहरुबाटै आफू अनुकूलको व्यक्ति नियुक्ति नगरे जे पनि हुनसक्ने भन्दै उपकुलपति केशरजंग बराललगायत पदाधिकारीलाई टेलिफोनमार्फत् धाकधम्की दिएको संयुक्त विद्यार्थी संगठनको दाबी छ ।
यसअघि शिक्षामन्त्री विद्या भट्टराईले पनि धम्की आएको भन्दै गृहमन्त्रीसँग सुरक्षा प्रबन्ध मिलाइदिन सार्वजनिक माग गर्नुभएको थियो । सोही विषयलाई लिएर सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच आरोप–प्रत्यारोप चलिरहेको छ ।
टिप्पणीहरू