खुम्बुलाई काठमाडौंको आर्थिक सहयोग
काठमाडौं महानगरपालिकाले बाढी प्रभावित सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ । विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका मेयर बालेन्द्र साह (बालेन) को अध्यक्षतामा आज बसेको बैठकले उक्त गाउँपालिकालाई राहत र पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
गत साउन ३२ गते दिउँसो खुम्बुको थामेमा दुईवटा हिमपहिरो फुट्दा गेग्रान र ठूला ढुंगासहित आएको बाढीले एउटा विद्यालय र स्वास्थ्य चौकी, दुई वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रुपमा क्षति पुर्याएको छ । बाढीले ९५० किलोवाट क्षमताको जलविद्युत परियोजनामा पनि क्षति पुगेको छ ।
फुटेको हिमताल थामे बजारबाट करिब ९ किलोमिटर टाढा छ । यस्तै, पदमार्ग भत्किएर थामे र टोकटोकेको आवगमन अवरुद्ध भएको बताइन्छ । हिमताल फुट्दा जोरसल्ले र फाक्दिङ्लगायत बस्तीमा जमिन कटान भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भएपछि ग्लेसियर पग्लिएर र पर्माफ्रोस्ट पग्लिएर हिमताल बिस्फोट भएको बताएको छ । ३९ वर्षअघि २०४२ साल साउन २० गते पनि थामेको अर्को भाग ४ हजार ४ सय मिटर उचाइमा रहेको दिगच्छो हिमताल फुटेको थियो ।
टिप्पणीहरू