कुशे औंसीले सार्यो कोशीको बैठक
कोशी प्रदेश सभाको बैठक तोकिएको मितिभन्दा अगाडि सारिएको छ । बुवाको मुख हेर्ने (कुशे औंसी) को दिन परेकाले प्रदेश सभाको बैठक चार दिन अगाडि सारिएको बताइएको छ । राजनीतिक अस्थिरताका कारण सत्ता स्वार्थको बन्धन बनेको प्रदेश सभाको पाँचौं अधिवेशनको चौधौ बैठक मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आग्रहअनुसार सभामुख अम्बरबहादुर विष्टले यसअघि भदौ १८ गतेका लागि आह्वान गरेका थिए ।
सोहीअनुरुप सूचना पनि प्रकाशित गरियो । तर, भदौ १८ गते कुशे औंसी रहेको थाहा पाएपछि तुरुन्तै अर्को सूचना निकालियो । त्यसपछि सभामुखले भदौ १४ गतेका लागि बैठक आह्वान गरेका हुन् । राजनीतिक अस्थिरताका कारण असार ८ गतेदेखि प्रदेश सभाको बैठक अनिश्चित भएपछि चौतर्फी आलोचना हुँदै आएको थियो ।
वर्षे अधिवेशनको बैठक शुरु नगरिएको भन्दै सदस्यहरुले विरोध जनाएका थिए । विपक्षीले मात्र नभई सत्तारुढ दल र नागरिक समाजले संसदलाई बन्धक बनाउन नहुने भन्दै सार्वजनिक रुपमा आलोचना गरेपछि सभामुख र मुख्यमन्त्री बैठक बोलाउन बाध्य भएका हुन् ।
उनीहरु काँग्रेस सरकारमा सहभागी भएपछि मात्र बैठक बोलाउने सुरमा थिए । भदौ १८ गतेसम्म काँग्रेस सत्तामा आइसक्नेमा उनीहरु विश्वस्त थिए । तर, सो दिन कुशे औंसी परेकाले सदस्यहरु अनुपस्थित हुने जनाउँदै बैठकलाई अगाडि सारिएको बताइन्छ । ‘बुवाको मुख हेर्ने दिन परेपछि सांसदहरु नआईदेलान् र बैठक शुरु भएको पहिलो दिन नै गणपुरक संख्या नपुग्ने होकि भन्ने त्रासले हतारमा सच्चाएर सूचना निकालिएको हो’, सचिवालय स्रोतले भन्यो ।
प्रदेश सभामा सभामुख र उपसभामुखसहित ९३ सदस्य छन् । जसमा एमालेका ४०, काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक हुन् । दोस्रो कार्यकालमा प्रदेश सभा राजनीतिका सत्ता स्वार्थको बन्धक बनिरहेको छ । पछिल्लो १९ महिनामा प्रदेश सभाका पाँच वटा अधिवेशनमा दुई विशेषसहित ६२ वटा बैठक बसेको छ । त्यो पनि ११७ घण्टा मात्र । दर्ता भएका विधेयक सबै अलपत्र अवस्थामा छन् ।
झण्डै छ वर्षमा छ जना मुख्यमन्त्री र ४३ जना मन्त्री भइसकेका छन् । १३ पटक सरकार विस्तार भएको छ । पछिल्लो पटक एमाले र काँग्रेसको सत्ता गठबन्धनपछि पनि सरकारले पूर्णता पाउन सकेको छैन । काँग्रेसले मन्त्रीको नाम नै पठाउन नसक्दा सरकार पुनर्गठनको तयारी अलपत्र परेको हो ।
टिप्पणीहरू