पारुलको अभियानमा स्थानीयको सहभागिता बढ्दो

पारुलको अभियानमा स्थानीयको सहभागिता बढ्दो

मोरङको विराटनगर महानगरपालिकाभित्र थालिएको ‘हरियाली अभियान’ मा स्थानीयको सहभागिता क्रमशः बढेको छ । शहरलाई शीतल बनाउन छ हजार बिरुवा रोपेर हुर्काउने अभियानमा विराटनगरबासीले स्वतःस्फुर्त सहभागिता जनाउन थालेका हुन् । 

लाखौं रुपैयाँ खर्चेर हरेक वर्ष सरकारी निकायले वृक्षरोपण गरेपनि संरक्षणको अभावमा विराटनगर झन् उजाड बन्दै गएको छ । तर सरकारी निकायलाई चुनौती दिँदै हरियाली अभियन्ता पारुल क्षेत्रीको समूहले छ हजार विरुवा रोपेर हुर्काउने संकल्प लिएको छ । 

पारुलको नेतृत्वमा विगत दुई महिनादेखि विराटनगरको कोशी राजमार्ग किनारको आठ किलोमिटर क्षेत्रमा विरुवा रोपेर हुर्काउने अभियान सञ्चालन भइरहेको छ । उत्तर प्रवेशद्वारदेखि दक्षिणको सीमाना जोगबनीसम्म आठ किलोमिटर राजमार्ग किनारमा छ हजार विरुवा रोपेर हुर्काउने अभियानमा सांसद, धर्मगुरु, राजनीतिक दलका नेता, कार्यकर्ता, सामाजिक संघसंस्थादेखि महिला र युवाहरुको सहभागिता निरन्तर बढ्दो छ । 

प्रतिनिधि सभाका सांसद योगेन्द्र मण्डलले रानी क्षेत्रमा रोपिएका विरुवामा पानी हाल्ने जिम्मा लिएका छन् । त्यसैगरी, अन्यले आफूले सकेको कामको जिम्मा लिएर सहयोग गरिरहेका छन् । विरुवा खरिद र संरक्षणका लागि थुप्रै नगद सहयोग पनि आएको पारुल बताउँछन् । 

उनका अनुसार हरेक दिन साँझ ५ बजेदेखि सामूहिक रुपमा विरुवा रोप्ने गरिएको छ । स्थानीयले बाँस र तारजाली ल्याएर विरुवामा घेराबारा लगाउने गरेका छन् । व्यापारीहरुले पानी हाल्ने र रेखदेखमा सहयोग गरिरहेको उनको भनाइ छ । 

हालसम्म स्वतःस्फुर्त रुपमा उत्तरदेखि दक्षिणको आठ किलोमिटर सडक किनार क्षेत्रमा तीन हजार विरुवा रोपिएको छ । छ हजार विरुवा रोपेर हुर्काउने अभियान तीन वर्षसम्म जारी रहने उनले जानकारी दिए । भन्छन्, ‘विरुवा रोपेर मात्र हुँदैन, हुर्काउन पनि सक्नुपर्छ । यो अभियानलाई सफल पार्न हामी तीन वर्षसम्म लागि पर्ने छौं ।’

टिप्पणीहरू