सम्पदा पुनःनिर्माणमा ढिलासुस्ती, एक दशकदेखि साततले दरबार बेहाल अवस्थामा
नुवाकोट शहरको भीडभाड, कोलाहल, धुँवाधुलो, धपेडीबाट मुक्त हुन र शीतल, स्वच्छ वातावरणमा रमाउनका लागि उत्कृष्ट गन्तव्य बनेको छ । काठमाडौंसँगै जोडिएको यो जिल्लाका कतिपय स्थानले धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको छ ।
नुवाकोटको पुरानो सदरमुकाम नुवाकोट डाँडामा रहेको साततले दरबार क्षेत्रले मुलुकको अनुपम शिल्पकलाको प्रतिनिधित्व गरेको छ । कुनैबेला काठमाडौंभन्दा शक्तिशाली राज्य नुवाकोटको मुख्य विशेषता सुन्दर हिमदृश्य पनि हो । पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्य एकीकरण गर्नुअगाडि नै नुवाकोट शिल्पकलाले सजिसकेको थियो ।
विडम्बना प्राचीन हस्तशिल्पले खिपिएका संरचना अब सग्लो देख्न नपाइने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले साततले दरबारसहित त्यहाँको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरु क्षतिग्रस्त बनायो ।
आठ वटा संरचनाको पुनःनिर्माणको जिम्मेवारी चीन सरकारले लिएपनि हालसम्म सम्पन्न हुन सकेको छैन । नेपालका तर्फबाट पुरातत्व विभाग र चीन सरकारका तर्फबाट चाइनीज एकेडेमी अफ कल्चरल हेरिटेजबीच २०७६ जेठमा ४५ महिनाभित्र पुनःनिर्माण सम्पन्न गरिसक्नेगरी सम्झौता भएको थियो ।
चीनले पुनःनिर्माणको जिम्मेवारी लिएको संरचनामा साततले दरबार, तलेजु भवानीको मन्दिर, दरबार परिसरको गारदघर, रंगमहल, विष्णु र नारायणको मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी दरबार रहेको छ । सम्झौता अवधि पूरा भइसक्दासमेत पुनःनिर्माणको कार्य सम्पन्न नभएको हो ।
टिप्पणीहरू