निकुञ्जमा अरुलाई टाइम कार्ड, आफ्नालाई फुक्काफाल
राजमार्गमा पर्ने राष्ट्रिय निकुञ्जहरुको विभिन्न स्थानमा ‘टाइम कार्ड सिस्टम’ लागू गरिएको छ । उक्त सिस्टम नेपाली सेनाले प्रयोगमा ल्याएको धेरै भएको छ । बाँकेको कोहलपुरदेखि पश्चिम महेन्द्रनगर जाँदै गर्दा रम्बापुर–भुरीगाऊँ र अम्बासा–कर्णाली दुई ठाउँमा, कोहलपुरदेखि पूर्व जाँदा ढकेरी–अगैंया जिरो पोइन्टसम्म, कोहलपुरदेखि उत्तर जाँदा चिसापानी–हर्रेको लेकसम्म टाइम कार्डको व्यवस्था लागू छ ।
यसले आम नागरिकसँगै वन्यजन्तुको सुरक्षा र सवारी दुर्घटनालाई न्यूनीकरणमा गर्न निकै सहयोग पुर्याउने बताइन्छ । तर, लामो समयदेखिको अवस्थालाई हेर्दा उक्त व्यवस्था सर्वसाधारणले मात्र पालना गर्नुपर्ने हो कि भन्ने भान परेको छ ।
म एउटा कार्यक्रमका लागि बर्दियाको ठाकुरद्वारा गएर साउन २७ गते साथीहरुसँग नेपालगञ्ज फर्किँदै थिएँ । हामी बसमै थियौं, गाडी भुरीगाऊँ आर्मी चेक प्वाइन्टमा रोकियो । हामीलाई थाहा छ, त्यहाँ चेक प्वाइन्टमा यातायातका साधन रोकेर इन्ट्री गरेपछि २२ मीनेटको समय कार्ड दिइन्छ र बिस्तारै २२ मीनेटमा रम्बापुर चेक प्वाइन्टमा पुग्नुपर्ने हुन्छ । बीचबीचमा गति सीमित ४० किलोमिटरप्रति घण्टा लेखिएको छ ।
सोहीअनुसार भुरीगाऊँ चेक प्वाइन्टबाट बस अगाडि बढ्यो । बसमा हामी धेरै साथी थियौं, सबै गफमा मस्त । रम्बापुर चेक प्वाइन्टमा पुगेको पत्तै पाएनौं । बसको खलासीले पछाडिबाट एउटा ठूलो बोरा निकालेर दिए । मैले सोधेँे यो के सामान हो ? उनले भने,‘तरकारीको बोरा हो ठेकेदारले पठाइदिएको । यही बोरा लिएर त हो हामी यति चाँडै यहाँ पुगेको नत्र त २२ मीनेट कुर्नुपर्थ्यो ।’ अनि मात्र थाहा भयो, हामी चढेको बस टाइम कार्ड बिना नै आएको रहेछ ।
उनका अनुसार नेपालगञ्जबाट आउँदा उताको ठेकेदारले सामान पठाउँछन् । यताबाट फर्किदाँ भुरीगाऊँका ठेकेदारले सामान पठाउँछन् । सामान हालिदिएबापत निकुञ्जमा टाइम कार्ड पर्दैन । यदि गाडीमा सामान नभएको दिन परेमा ठीक समयमै टाइम कार्ड बोकेर पुग्नुपर्ने हुन्छ । झट्ट सुन्दा कुरा सामान्य नै लाग्ला तर विषय गम्भीर छ ।
जुन उद्देश्यका साथ टाइम कार्ड लागु गरिएको हो, त्यस प्रकारका क्रियाकलापले उक्त उद्देश्यमा कतिको प्रभाव पार्ला ? सबै साथी उनको कुरा सुनेर अचम्मित भयौं । यस्तो पनि हुँदो रहेछ भन्दै सबै साथी एकअर्कालाई प्रश्न गर्न थाले । गाडीमा सँगै भएका एक जना साथी र म केही महिनाअगाडि धनगढीबाट फर्किंदाँ चार मीनेट मात्र छिटो पुग्दा हातपात नै गर्न तम्सिएका थिए सेनाका एक जवान ।
धेरै अनुरोध गरेपछि हामीलाई त्यहाँबाट अगाडि बढ्न दिइएको थियो । यसै कारण भनिन्छ होला, ‘चिनेकालाई मस्ती, नचिनेकालाई सास्ती ।’
(एकजना यात्रु एन. शाहको अनुभव)
टिप्पणीहरू