मुद्दाको बान्की एक, आदेश अनेक
पछिल्लो एक साताको अवधिमा सर्वोच्च अदालतबाट एउटै प्रकृतिको मुद्दामा फरक आदेश आएको छ । न्यायाधीश हरि फुयाँलको इजलासले गत साता र शारङ्गा सुवेदीको इजलासले आज दिएको आदेशले पीडित पक्ष, राज्य र सर्वसाधारणलाई अलमलमा पारिदिएको छ । सबैभन्दा धेरै अलमल स्वयम् अदालत र श्रीमानहरुमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही अधिकृतले दायर गरेको ३० वर्षे सेवा अवधिसम्बन्धी मुद्दामा भएको फरक आदेशले छर्लङ्ग पारिदिएको छ ।
आगामी १६ गतेदेखि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका नेपाल प्रहरीका २१ अधिकृतले दायर गरेको रिटमा फुयाँलले गत बिहीबार एकपक्षीय सुनुवाईमा अन्तरिम आदेश जारी गर्नुभएको थियो । उक्त आदेशपछि प्रहरीका ९० जना अधिकृतको अवकाश कम्तीमा एक महिनाको लागि रोकिएको छ ।
सोही आदेशपछि सोही प्रावधानका कारण सोही मितिदेखि अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका १२ जना अधिकृतले अस्ति सर्वोच्चको ढोका ढक्ढकाएका थिए । न्यायाधीश सुवेदीको आजको इजलासमा परेको उक्त मुद्दामा अन्तरिम आदेशलाई अस्वीकार गरिएको छ । कारण देखाउ आदेशपछि रिट निवेदकहरु आगामी आइतबारदेखि स्वतः अवकाशमा जाने भएका छन् ।
यता सरकार न्यायाधीश फुयाँलको इजलासले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेटमा जाने तयारीमा छ । सम्भवतः भोलि दायर हुने उक्त निवेदनमाथि तीन दिनभित्र अर्को आदेश भएमा नेपाल प्रहरीका ९० जनाले पनि आइतबारदेखि अवकाश पाउने अवस्था बन्ने छ ।
टिप्पणीहरू