मानव तस्करहरुले नेपालीलाई अलपत्र पारेपछि ब्राजिलद्वारा नयाँ घोषणा

मानव तस्करहरुले नेपालीलाई अलपत्र पारेपछि ब्राजिलद्वारा नयाँ घोषणा
सुन्नुहोस्

ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिटमा पौने दुई सय नेपाली नागरिक अलपत्र परेका छन् । ब्राजिलियास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै ट्रान्जिट इलाकामा करिब सात सय विदेशी रोकिएकोमा त्यसमध्ये एक सय ७६ जना नेपाली रहेको जानकारी दिएको छ । 

उनीहरुलाई मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेको जनाइएको छ । संगठित रुपमा सञ्चालित मानव तस्कारहरुको प्रलोभन र उक्साहटमा परी उनीहरु सो परिस्थितिमा फस्न पुगेको दूतावासको ठहर छ । 

‘दक्षिण अमेरिकाका ब्राजिललगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो छ । संगठित रुपमा सञ्चालित मानव तस्करहरुको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ । कैयौंले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, ब्राजिल सरकारले तत्काल लागू हुने गरी नेपाललगायत केही मुलुकका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम जारी गरको दूतावासले जनाएको छ । 

जसअनुसार अबदेखि नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने छन् । त्यसरी नगएमा सोही विमानमा फिर्ता पठाइने भनिएको छ । तर, विमानस्थलमा शरणार्थीको मान्यता नदिइने ब्राजिलले स्पष्ट पारेको छ । 

मानव तस्करहरुको सञ्जालमा हुने यस्ता यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित रहेकाले दूतावासले प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा त्यहाँ हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनसमेत आग्रह गरेको छ ।

टिप्पणीहरू