राष्ट्रिय वन मासेर धमाधम बस्ती, हाकिमलाई अर्कै चिन्ता
रौतहटको राष्ट्रिय वन क्षेत्र अतिक्रमणमा पर्न थालेको छ । जुडिबेला सब डिभिजन कार्यालयअन्तर्गत रहेको वन सुकुम्बासीहरुले अतिक्रमण गरेका हुन् ।
सो क्षेत्रभित्र पर्ने सानो खरियान भन्ने स्थानमा व्यापक वन फडानी गरेर सुकुम्बासी बस्ती बसाइएको छ । यद्यपि, डिभिजन वन कार्यालय, रौतहटले नजरअन्दाज गरिरहेको स्थानीयको गुनासो छ ।
सुकुम्बासीहरुले वन क्षेत्रलाई खेतीयोग्य जमिन बनाइरहेको स्थानीय बताउँछन् । सो वन हेर्ने जिम्मा पाएका सहायक वन अधिकृत अनिलकुमार महतोसहितका वन कर्मचारीकै मिलेमतोमा बस्ती बसाउने र खेतीयोग्य जमिन बनाउने काम भइरहेको आरोप छ ।
स्थानीयका अनुसार सिन्धुली, मकवानपुरलगायत जिल्लाका बासिन्दा बोलाएर राष्ट्रिय वन मास्ने काम भइरहेको । मिलेमतोमा त्यहाँको जग्गासमेत बिक्री गरिएको बताइन्छ ।
यता, राष्ट्रिय वन क्षेत्र संरक्षण गर्नुको साटो वन कार्यालय, रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्र भने आफ्नो सरुवा थमौतीका लागि प्रदेश मुकाम जनकपुरमा अखडा जमाएर बसेका छन् । उनले कार्यालयको जिम्मेवारी सम्हालेदेखि वनको चरम दुरुपयोग बढेको आरोप लगाइएको छ ।
अधिकृत महतो पनि नियमित गस्तीमा नजाने स्थानीय बताउँछन् । एक स्थानीयले भने,‘पछिल्लो समय वनको व्यापक दुरुपयोग भइरहेको छ । सुकुम्बासीको नाममा विभिन्न जिल्लाका मान्छेहरु आएर वनको जग्गा कब्जा गरिरहेका छन् । खेतीयोग्य जमिन बनाएका छन् । तर, डिभिजन वन कार्यालय देखेर पनि नदेखेझैं गरेर बसेको छ । खरियान क्षेत्रमा भएको अतिक्रमणमा वन कर्मचारीकै प्रत्यक्ष संलग्नता रहेको छ ।’
कार्यालयका सूचना अधिकृत विमलकुमार ठाकुरले राष्ट्रिय वन अतिक्रमणबारे आफूले हालसालै जानकारी पाएको बताए । वन मासेर खेतीयोग्य जमिन बनाएको गुनासो आएपछि कार्यालयको टोलीलाई अनुगमनका लागि पठाएको उनले जानकारी दिए । ‘त्यहाँ वन मासेको भन्ने गुनासो प्राप्त भएको छ । त्यसलगत्तै कार्यालयबाट अनुगमनका लागि टोली त्यता पठाएको छु’,उनले भने ।
सो स्थानबाट काँचा खयरका रुख व्यापक कटान गरिएको छ ।
यता, जिल्लाको बलेरी क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा पर्ने बागमती बगर नै स्थानीयले कब्जा गरेर खेतीयोग्य जमिनमा परिणत गरेका छन् । त्यहाँको जग्गा पनि तीव्र रुपमा बिक्री भइरहेको वृन्दावनका एक स्थानीयले बताए ।
‘राजनीतिक दलका नेता–कार्यकर्तादेखि लिएर स्थानीयसम्मले बगर कब्जा गरेका छन् । सो बगर खेतीयोग्य जमिन बनाएर बिक्रीवितरण भइरहेको छ । तर, वन कार्यालयलाई वास्ता नै छैन्’,उनले गुनासो पोखे ।
टिप्पणीहरू