देशभरका सहकारीलाई श्वेतपत्र जारी गर्नैपर्ने बाध्यता

देशभरका सहकारीलाई श्वेतपत्र जारी गर्नैपर्ने बाध्यता

देशभरका सहकारी संस्थालाई श्वेतपत्र जारी गर्न निर्देशन दिइएको छ । सहकारी विभागले सहकारी संघसंस्थाका लागि निर्देशन जारी गर्दै श्वेतपत्र तयार गर्न भनेको छ ।

विभागले सदस्यहरुको विश्वास र पारदर्शिताबाट मात्र सहकारीको प्रभावकारिता र दिगोपन कायम रहने उल्लेख गर्दै अनिवार्य रुपमा श्वेतपत्र तयार गरी सार्वजनिक गर्न पनि निर्देशन दिएको छ । 

‘सबै सहकारी संघसंस्थाहरुले अनिवार्य रुपमा तोकिएको ढाँचाबमोजिम श्वेतपत्र तयार गरी आफ्ना सबै सदस्यसमक्ष सहज रुपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्नुहुन र नियामक निकायले माग गरेको बखत उपलब्ध गराउने व्यवस्था गर्नु गराउनुहुन सहकारी नियमावली, २०७५ को नियम ७६ बमोजिम यो निर्देशन जारी गरिएको छ,’ विभागले भनेको छ । 

सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न गठित ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले पनि सहकारी संघसंस्थालाई श्वेतपत्र जारी गर्न लगाउन सरकारलाई सुझाव दिएको थियो । श्वेतपत्रमा सहकारीको जम्मा सदस्य संख्या, शेयर पुँजी, जगेडा कोष, घाटा पूर्ति कोष, जम्मा बचत, नियमित बचत, जम्मा ऋण लगानी, ऋणी संख्या, खराब ऋण, शंकास्पद ऋण, असल ऋण, ऋण हानी कोषमा गरेको व्यवस्था, गत आर्थिक वर्षको खुद नाफा तथा कुल सञ्चित नोक्सानी, जम्मा सम्पत्ति, बाह्य ऋण, तरलता रकम, सञ्चालक समिति, लेखा सुपरीक्षण समिति र व्यवस्थापकलगायतका विवरण उल्लेख गरिनुपर्छ ।

टिप्पणीहरू