प्रस्तावित अर्का राजदूतसमेत लफडामा
इजरायलबाट फर्काइएकी कान्ता रिजालको नाम अस्ट्रेलियाको कोटाबाट काटिएलगत्तै इजरायलकै लागि प्रस्तावित राजदूत प्रा.धनप्रसाद पण्डितविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरी दर्ता भएको छ । राजधानीको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसका पूर्वप्रमुख समेत रहेका उनको सिफारिस रोक्न माग गर्दै भदौ २ र ६ गते दुई वटा उजुरी परेको छ ।
पण्डितलाई राजदूत पदमा नियुक्त गरिए मुलुकको इज्जतमा दाग लाग्ने उजुरीमा उल्लेख छ । राष्ट्रिय सूचना आयोग र उच्च अदालत,पाटनबाट दोषी ठहर भएका उनको सिफारिस ‘प्रस्तावित नाम राजदूतसम्बन्धी निर्देशिका २०७५ दफा ३ को ६ को ५ र ११ विपरीत हुन गएको पनि उजुरीमा छ ।
दर्ता नम्बर ३ को उजुरीपत्रमा भनिएको छ,‘प्रस्तावित राजदूत श्री धनप्रसाद पण्डितका विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार र उच्च अदालत,पाटनको फैसलाबमोजिम सूचना नदिएको मुद्दामा सूचना आयोगको फैसलालाई नै सदर गरी निज पण्डित कसूरदार ठहरिएकोले निजको नाम निर्देशिका २०७५ दफा ३ को छ को ५ र ११ को विपरीत हुन गएकोले अयोग्य हुने देखिन्छ ।’
सिन्धुपाल्चोकका आदित्य दाहालले २०७७ पुस २३ गते उनलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ (१) को कसूरमा कारबाहीको माग गर्दै सूचना आयोगमा उजुरी दिएका थिए । आयोगले सोही कसूरमा उनलाई दोषी ठहर गर्दै १५ हजार रुपैयाँ जरिवाना तिराएको थियो । त्यस्तै, उनलाई विभागीय कारबाहीका लागि त्रिभुवन विश्वविद्यालयलाई निर्देशनसमेत दिइएको उल्लेख छ ।
आयोगले तोकेको सजायविरुद्ध पण्डित उच्च अदालत,पाटन गए । २०७८ असोज २० गते उच्चले उक्त कसूरमा दोषी ठहर गरिदियो । उच्चका तत्कालीन न्यायाधीशद्वय गोकर्ण डाँगी र अमृतबहादुर बस्नेतको इजलासले आयोगको कारबाही र जरिवानाको निर्णयलाई सदर गरिदिएको हो ।
यता,आयोगको २०७८–७९ को वार्षिक प्रतिवेदनको पृष्ठ १६ को ४.२ मा उनलाई सूचना नदिएबापत सजाय गरिएको उल्लेख छ । उजुरीकर्ताले उनीमाथि भएको कारबाहीबारे सूचना आयोग,फैसला सुनाउने तत्कालीन न्यायाधीशबाट जानकारी लिन सुझाएका छन् ।
त्यस्तै, ‘दोषी व्यक्तिलाई राजदूत सिफारिस हुनबाट रोकी पाऊँ’ भन्दै पण्डितविरुद्ध परेको अर्को उजुरीको दर्ता नम्बर ६ हो । मन्त्रिपरिषदबाट गलत व्यक्ति सिफारिस भएकाले उनको नियुक्ति रोक्नुपर्ने उजुरीमा लेखिएको छ ।
टिप्पणीहरू