घुस बुझेपछि महिलालाई दुर्व्यवहार गरेका हाकिमविरुद्ध जाहेरी

घुस बुझेपछि महिलालाई दुर्व्यवहार गरेका हाकिमविरुद्ध जाहेरी
सुन्नुहोस्

एक लाख नजराना बुझेर पनि हाकिमले सेवाग्राहीको काम नगरिदिएपछिको उजुरी प्रहरी कार्यालयमा पुगेको छ । एक जना सरकारी कार्यालयका हाकिमले सेवाग्राहीसँग ९५ हजार नगद घुस लिएपनि सेवाग्राहीको काम नगरेपछि उनीविरुद्ध उजुरी परेको हो ।

काम गरिदिने शर्तमा हाकिमले पहिलो किस्ता ४० हजार र दोस्रो किस्तामा ४५ हजार रुपैयाँ घुस बुझेको थिए । तर काम नगरिदिएको, बुझेको रकमको रसिद नदिएर झुलाएपछि सेवाग्राही पहिले सम्बन्धित कार्यालयमा पुगेको बताइन्छ । श्रीमानसहित पुगेकी उनले हाकिमसँग सोधिन्, ‘मेरो काम कहिले हुन्छ ?’ 

उनले बुझेको ९५ हजारको रसिद र कामबारे जिज्ञासा राख्दा उल्टै धरपकड, अपशव्द बोलेको महिलाको आरोप छ । सोही विषय अहिले प्रहरीकोमा पुगेपछि लफडाले नयाँ मोड लिएको बताइन्छ । 

प्रसंग गत साउनमा भएको सरुवा उल्टाएर लाङटाङ राष्ट्रिय निकुञ्जमै टिक्न सफल प्रमुख वार्डेन अणनाथ बरालको विभिन्न गलत कार्यमध्येको एक हो । बरालले गत ७ गते निकुञ्जकै कार्यकक्षमा सेवाग्राहीलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय रसुवामा उजुरी पर्यो ।

कालिका गाउँपालिका वडा नम्बर २ मा बसोबास गर्दै आएकी दाम्ची ग्याल्मो घलेनीले नौकुण्ड गाउँपालिका २ युवास्थित दक्षिण ग्रेमा तेल उत्पादनको कारखाना बनाउने निधो गरिन् । त्यसका निम्ति सामुदायिक वन उपभोक्ता समिति गठन गरी लारानीबाट दक्षीण ग्रेमा तेल उत्पादन गर्ने मेसिन राख्ने अनुमति माग गरेकी हुन् । सोही क्रममा उक्त कार्यालयका हाकिम बराल र अन्य केही कर्मचारीले सो कार्यका लागि ९५ हजार बुझेका थिए । तर राजश्व रसिद माग्दा रसिद दिन इन्कार गरेको पीडितको भनाई छ । 

उनका अनुसार,सात गते श्रीमानसहित लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयमा पुगी तेल उत्पादन गर्नका लागि अनुमति दिन मिल्ने कि नमिल्ने ? बुझाएको रकमको राजश्व रसिद माग्दा गालीगलौच,अपशब्द बोलेको उनको भनाई छ । 

उनले उपभोक्ता समितिका सहकर्मीहरुलाई राष्ट्रिय निकुञ्जबाट तेल उत्पादन गर्ने अनुमति दिन नमिल्ने जवाफ आएको जानकारी गराउँदा मोबाइल खोसेर फुटाइदिएको जाहेरीमा उल्लेख छ । बरालले कार्यालयबाट लछार पछार गर्दै गलहत्याएर बाहिर निकालेको महिलाले दाबी गरिन् । 

हाकिम बराललाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ अन्र्तगत दफा ११८ बमोजिम अभद्र व्यवहार गर्न नहुने कसुरमा कारबाहीका साथै उनले बुझेको ९५ हजार र फुटेको मोबाइल क्षतीपूर्तिको माग प्रहरी कार्यालयमा दर्ता गरिएको जाहेरीमा उल्लेख छ । 

उसो त बरालको ज्यादती यतिमै सीमित नरकेको स्थानीयको भनाई छ । यसअघि उनको बदमासीले सीमा नाघेको भन्दै काँग्रेस  भातृसंगठनका पदाधिकारी नै कार्यालय घेर्न पुगेका थिए । सो क्रममा उनले देखाएको व्यवहारबाट क्रुद्ध काँग्रेस निकटस्थहरु बरालको सरुवाका लागि काठमाडौंस्थित वन मन्त्रालय र विभागसम्म पुगेको बताइन्छ । 

वार्डेन बरालको गत साउन ९ गतेको मितिमा कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीमा सरुवा भएको छ । तरपनि उनी सरुवा उल्टाएर लाङटाङ राष्ट्रिय निकुञ्जमै बसेको स्रोतको दाबी छ । बराललाई त्यही टिकाउन रसुवा जिल्ला एमालेको एउटा खेमा नै सक्रिय रहेको बताइएको छ । विशेषगरी पहिले माओवादी, बीचमा काँग्रेस हुँदै अहिले एमाले बनेका प्रेम तामाङ र कर्णेल लामाहरुले उनलाई बोकेको रसुवा एमालेका पूराना नेताहरु बताउँछन् ।

टिप्पणीहरू