यसकारण साटियाे विमानस्थलमा भिआईपीहरुको गाडी

यसकारण साटियाे विमानस्थलमा भिआईपीहरुको गाडी
सुन्नुहोस्

परराष्ट्र मन्त्रीलाई पूर्व प्रधानमन्त्रीभन्दा छिटो जाने हतार ! तर हतारले मन्त्रीलाई एकछिन अलमलमा पारिदियो ।   

आज बिहान धनगढी विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणा र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि तयारी अवस्थामा राखिएको गाडीमा द्विविधा उत्पन्न भएको हो । बुद्ध एअरको एउटै उडानमा काठमाडौँबाट धनगढी पुग्नुभएका उहाँहरुलाई व्यवस्थापन गरिएको सवारी साधनको कारण विमानस्थलमा एकछिन रमाइलो नै भयो । 

स्वागतका लागि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र विमानस्थलमै पुगेका थिए । उनका अनुसार विमानबाट पहिले प्रचण्ड र त्यसपछि मन्त्री राणा ओर्लिनुभयो । दुवै जनालाई प्रजिअ मिश्रसहित प्रहरी अधिकारीहरुले पुष्पगुच्छाले स्वागत गरे । 

त्यसपछि मन्त्री राणा सरासर भिआइपी कक्षबाट बाहिर निस्किएको र प्रचण्ड भिआइपी कक्षमा कुराकानीमा लाग्नुभएको प्रजिअ मिश्रले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘पराराष्ट्र मन्त्रीज्यू सरासर बाहिर निस्कुन भयो । तर पूर्वप्रधानमन्त्रीज्यू पूर्वगृहमन्त्री (नारायणकाजी श्रेष्ठ), पूर्वअर्थमन्त्री (वर्षमान पुन) सहितका अरु नेताहरुसँगै भिआइपी कक्षमा एकछिन कुरा गर्न लाग्नुभयो ।’

प्रजिअका अनुसरा विमानस्थलबाहिर पहिलो लाइनमा प्रचण्डको निम्ति गाडी तयारी हालतमा थियो । त्यसपछि परराष्ट्रमन्त्री र क्रमश अन्य नेताहरुको लागि राखिएको थियो । तर भिआइपी कक्षबाट हतार–हतार निस्कनुभएकी मन्त्री राणा सरासर प्रचण्डको लागि तयार पारिएको गाडीमा बस्नुभयो । 

‘पूर्वप्रधानमन्त्रीको लागि स्कर्टिंगसहितको गाडी सुरुमा राखिएको थियो, हामीले पनि उहाँ नै पहिला निस्कनुहुन्छ होला भन्ने सोचेका थियौँ’, प्रजिअ मिश्रले घटनाबारे विस्तार लगाउँदै भने, ‘तर परराष्ट्रमन्त्रीज्यू पो पहिला निस्कनुभयो, बाहिर उहाँको पार्टीका मान्छेहरुको भीड थियो, त्यो भीडमा झुक्किएर मन्त्रीले पूर्वप्रधानमन्त्रीको गाडी चढ्नुभएछ ।’

चालकलाई पनि को बसेको भन्ने थाहा नभएको मिश्रले उल्लेख गरे । गाडी अघि बढ्न लागेपछि केही प्रहरी अधिकारी दौडिएर ‘हजुरको गाडी पछाडि छ’ भन्दै मन्त्रीलाई जानकारी गराएका थिए । त्यसपछि उहाँ ‘ए होर’ भन्दै ओर्लिएर आफ्नो गाडीमा बसेको प्रजिअले जानकारी दिए । 

‘मन्त्रीको पिएसओलाई पनि कुन गाडी हो भनेर थाहा भएन छ, त्यही भएर अलिकति कन्फ्युज भएको हो, गाडी हिँड्नुअघि नै हामीले करेक्सन गरिहाल्यौ’, सिडिओले थपे । 

पार्टीको प्रदेशस्तरीय परामर्श बैठकलाई सम्बोधन गर्न प्रचण्डसहितका नेताहरु त्यहाँ पुग्नुभएको हो । परराष्ट्रमन्त्री राणा भने गौरापर्व मनाउन जानुभएको थियो । उहाँले धनगढीस्थित निवासमा गौरा देवीको दर्शन र पूजाअर्चना गरेपछि देउडा नाच्नुभएको थियो ।

टिप्पणीहरू