नयाँ सरकार गठनसङ्गै ल्हारक्याल लामा भारततिर
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा पछिल्लो समय गुमनाम छन् । माओवादी नेतृत्वको सरकार हटेपछि उनी नियमित झैँ भारतको बिहार,उत्तर प्रदेश र नयाँ दिल्लीतिर बस्दै आएको स्रोतको दाबी छ ।
झण्डै दुई महिनापछि उनी हिजो बिहारको नालन्दामा देखा परेका थिए । ‘गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण’ सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा उनी उपस्थित भएका हुन् । भारतमा रहेका उनी उतैबाट नालन्दा पुगेको बताइन्छ ।
इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेसन नयाँ दिल्लीद्वारा नव नालन्द महाबिहारको सहकार्यमा बिहारको नव–नालन्द महाबिहारमा आयोजित सम्मेलनको संयुक्त उद्घाटनमा ल्हारक्याल सहभागी छन् ।
गुरु पद्मसम्भवलाई नेपाल,चीनको तिब्बत, भुटान र भारतको उत्तरी क्षेत्रमा बुद्ध धर्मका प्रचारकको रुपमा लिइन्छ । सम्मेलनमा २४ भन्दाबढी मुलुकको प्रतिनिधित्व रहेको जानकारी दिइएको छ ।
टिप्पणीहरू