श्रीकेश तेल कम्पनीले भ्रमको खेती गरेको पुष्टि

श्रीकेश तेल कम्पनीले भ्रमको खेती गरेको पुष्टि
सुन्नुहोस्

सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीद्वारा उत्पादित ‘श्रीकेश तेल’ गुणस्तरहीन पाइएको छ । गुणस्तरहीन तेल उत्पादन गरेको भेटिएपछि काठमाडौं महानगरपालिकाले कम्पनीलाई कारबाही गरेको छ । कारबाहीस्वरुप दुई लाख रुपैयाँ जरिवाना तिराएको महानगरले जनगुनासोपछि गत असार ७ गते कम्पनीसँग विवरण मागेको थियो । 

सोही विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा तेलको गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको महानगरका निरीक्षण अधिकृत डा.अवधेश झाले बताए । उनका अनुसार विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसीपि मेथड) उल्लेख गरिएको कागजात कम्पनीले उपलब्ध गराउन सकेको छैन ।

त्यस्तै, कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख पनि पाइएको छैन । यसो हुनु भनेको गुड्स म्यानुफ्उाक्चरिङ् प्राक्टिस (जिएमपी) नरहेको महानगरको प्रतिवेदनमा उल्लेख छ । तर तेलमा आइओइएस प्रमाण प्रयोग गरिएको छ । 

कानुनतः यसो गर्न पाइँदैन । तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) को प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन पनि अपुरो पेश भएको महानगरले बताएको छ । त्यस्तै, तेलको लेबलमा उल्लेख गरिएका फाइदाहरु (कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चायाँ रोक्ने) पुष्टि हुने क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण, जर्नलमा प्रकाशित नदेखिएकाले भ्रम सिर्जना हुने शब्दको प्रयोग गरेर कम्पनीले प्रचारप्रसार र व्यावसायिक क्रियाकलाप गरेको महानगरको ठहर छ । 

थप कारबाहीका लागि महानगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधी व्यवस्था विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई तेलको प्रतिवेदन पठाएको छ ।

टिप्पणीहरू