सुरक्षा घेरामा पशुपति पुगेका भारतीय मन्त्री फर्के नयाँ दिल्ली
नेपाल भ्रमणमा आएका भारतको उत्तर प्रदेशका औद्योगिक विकास, निर्यात प्रोत्साहन, एनआरआई तथा निवेश प्रोत्साहनमन्त्री नन्दगोपाल गुप्ता ‘नन्दी नयाँ दिल्ली फर्केका छन् । परिवारका छ जना सदस्यसहित हिजो अपराह्न काठमाडौँ आइपुगेका आएका उनी आज अपराह्न स्वदेश फर्किएका हुन् ।
नक्सालको मेरियट होटलमा बसेका उनी अपराह्न पौने ३ बजे ईन्डिगाे एयरलाइन्सको उडान नम्बर 6E1154 मा सपरिवार नयाँ दिल्ली फर्केका हुन् । दिल्ली उड्नुअघि उनले आज बिहान पशुपतिनाथको दर्शन गरे ।
नन्दगोपालाई नेपाल प्रहरीले विशेष सुरक्षासहित एस्कर्टिङ उपलब्ध गराएको थियो । प्रधान कार्यालय कार्य विभागले हिजो सम्बन्धित कार्यालय, विभाग र युनिटलाई सर्कुलर गर्दै आज बिहान १० बजेसम्म विशेष सुरक्षा प्रदान गर्न निर्देशन दिएको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक शिद्धि विक्रम शाहले गरेको सर्कुलरमा भारतीय मन्त्रीको सुरक्षामा सहायक निरीक्षक विकास सिलवाललाई व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा खटाइएको थियो ।
भारतीय मन्त्री नन्दगोपाललाई उनको आवागमन मार्ग, मन्दिर र आवासमा आवश्यक सुरक्षा प्रदान गर्न हेडक्वार्टरले निर्देशन दिएको थियो ।
टिप्पणीहरू