खर्चिलो तीज रोक्न प्रशासनको खबरदारी
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीजमा तडकभडक नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
तीज मनाउने नाममा केही वर्षयता तडकभडक र खर्चिला कार्यक्रम हुन थालेको उल्लेख गर्दै प्रशासनले चाडको मौलिकतामाथि आँच आउने कुनैपनि किसिमका क्रियाकलाप नगर्न भनेको हो । आज सूचना जारी गर्दै प्रशासनले आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न सचेत पनि गराएको छ ।
‘आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला एवं भड्किलो कार्यक्रम सञ्चालन नगर्न–नगराउनुहुन हार्दिक अनुरोध छ’,सूचनामा भनिएको छ,‘पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु हामी सबैको कर्तव्य भएकोले यस कार्यमा जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्थाहरु, सञ्चारकर्मीहरु, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लाबासीहरुबाट सहयोगको अपेक्षा गरिएको छ ।’
सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको प्रशासनले जनाएको छ । त्यस्तै, प्रशासनले अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रमको आयोजना गरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।
टिप्पणीहरू