एसी बिग्रेपछि त्रिभुवन विमानस्थलमा यात्रु र कर्मचारीको बिजोग

एसी बिग्रेपछि त्रिभुवन विमानस्थलमा यात्रु र कर्मचारीको बिजोग
सुन्नुहोस्

अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय नाकामा रहेका अध्यागमन कार्यालय विदेशीको निम्ति सम्बन्धित मुलुकको पहिलो परिचय हो । तर, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवनमा पुगेपछि विदेशीहरुले नाक खुम्च्याउनुपर्ने अवस्था बन्दै गएको छ ।

लथालिङ्ग अवस्थामा रहेको हाम्रो विमानस्थलका कारण अन्तर्राष्ट्रियस्तरमै मुलुकको बदनामी भइरहेको छ । तर, सरोकारवाला निकाय र पदाधिकारीहरुले यसतर्फ खासै चासो राखेको पाईंदैन । आन्तरिक टर्मिनलतर्फको एअर कण्डिसनर बिग्रिएको झण्डै एक साता भएपनि अहिलेसम्म मर्मत नभएकाले यात्रु र त्यहाँ कार्यरत कर्मचारीले सास्ती व्यहोरेको देखिन्छ ।

एसी अभावमा गर्मीमा निकै गाह्रो भएको विमान कम्पनीका कर्मचारी र यात्रुहरुको गुनासो छ । ‘गर्मी धेरै छ । अर्कोतिर यहाँको एसी पनि बिग्रिएको रहेछ । सेवाग्राहीको भीड भइरहने ठाउँमा त सेवासुविधा पनि चुस्त हुनुपर्छ नि । पैसा तिर्नुपरेको छ, सेवासुविधा केही छैन’,एक यात्रुले आक्रोशित हुँदै भने । 

उनीझैँ अन्य धेरै यात्रुको पनि त्यस्तै गुनासो छ । केही यात्रु भने कर्मचारीसँग चर्को स्वरमा कराइरहेका थिए । एसी मर्मत नभएको सम्बन्धमा कर्मचारीहरु केही नबोली एकोहोरो यात्रुको गाली सुनेर बसेको देखिन्थ्यो ।

त्यहाँ कार्यरत कर्मचारी स्वयम्ले गुनासो गर्दै भने, ‘डोमेस्टिक एअरपोर्टको एसी नचलेको धेरै दिन भइसकेको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मतलब नै छैन । यात्रुले हामीलाई खाऊँलाझैँ गरिसके । कर तिरेका छौं, सेवासुविधा छैन भन्दै हामीमाथि रिस पोख्नुहुन्छ । उहाँहरुको रिस पनि जायज हो । यस्तो गर्मी छ, एसी चल्दैन । वैकल्पिक व्यवस्था पनि छैन ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एसी मर्मत भइरहेको जनाएको छ । आन्तरिक टर्मिनलतर्फका एक कर्मचारीले अबको एकाध दिनभित्र एसी चल्ने बताए । ‘बुद्ध एअरको काउण्टरतर्फको एसी बिग्रिएको हो । चार–पाँच दिनजति भयो । अहिले मर्मत भइरहेको छ । अबको एकाध दिनमा सुचारु हुन्छ’,उनले भने ।

टिप्पणीहरू