श्याम ज्ञवालीले पाएनन् अन्तरिम आदेश

श्याम ज्ञवालीले पाएनन् अन्तरिम आदेश
सुन्नुहोस्

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित पाँच जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले आन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै परेको रिटमा  न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश नदिएको हो । अदालतले कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई लिखित जवाफसहित छलफलमा बोलाएको छ ।

यो महिनादेखि अवकाशमा जान लागेका एआइजी ज्ञावलीसहितले हिजो रिट दर्ता गराएका थिए । प्रधानमन्त्री कार्यालयलाई पनि विपक्षी बनाइएको रिटमा दर्जाअनुसार उमेर हद तोकेर अवकाशमा जाने व्यवस्था कार्यान्वयनमा रोक लगाउन आदेश माग गरिएको थियो । 

तर, अदालतले अन्तरिम आदेश नदिएसँगै उमेरहदका कारण अवकाश हुने वा नहुने भन्ने विषयको टुंगो अर्को इजलासबाट लाग्ने छ । अदालत गुहार्न गएकाहरुमा एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र इन्स्पेक्टर नागेन्द्र ठाकुर हुन् । 

यसअघि सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न आदेश दिएको थियो । आइतबारदेखि अवकाशमा जान लागेका उपत्यका ट्राफिक प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ अधिकृतले दायर गरेको रिटमा अदालतले मागदाबी बमोजिमको अन्तरिम आदेश दिएपछि अर्को टोली पनि अदालत पुगेको हो । 

आइतबारदेखि नै अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका केही हाकिम पनि यसैगरी सर्वोच्च अदालत पुगेका थिए । तर, उनीहरुको हकमा समेत न्यायाधीश सुवेदीको अस्तिको इजलासले मागेअनुसारको आदेश गरेन ।
 

टिप्पणीहरू