देउवा–मोदी वार्ता

देउवा–मोदी वार्ता

– सिंहराज

मोदी – के छ त म्याडम ?

देउवा – हजुर, एकदम ठीक छु । 

मोदी – अनि देउवाजी कस्तो हुनुहुन्छ ?

देउवा – उहाँ पनि ठीकै हुनुहुन्छ । सरकारमा गएपछि अलि व्यस्त हुन थाल्नुभएको छ । बेलुकी दुईको ठाउँमा अहिले चारजति लिने गर्नुभएको छ । 

मोदी – के ? ब्रिफिङ ?

देउवा – होइन । पेग ।

मोदी – ए..त्यो ? हि..हि..हि...त्यो त ठीकै छ । पहिलेजस्तो दिउँसै निदाउने त गर्नुहुन्न अब ?

देउवा – निदाउनुहुन्छ नि ! त्यही भएर म बीच–बीचमा फोन गरिरहन्छु । 

मोदी – अनि राति सुत्नुहुन्न ?

देउवा – पहिले सुत्नुहुन्नथ्यो । अहिले सुत्न थाल्नुभएको छ । सरकारमा गएदेखि उहाँलाई राम्रो निद्रा लाग्न थालेको छ । 

मोदी – ए...अच्छा, त्यो त राम्रो भयो । अनि तपाईंको हेल्थ कस्तो छ नि ?

देउवा – मेरो पनि ठीकै छ । यहाँ आएको बेला एकपटक चेकअप पनि गराएर जाने बिचार गरेकी छु ।

मोदी – हुन्छ नि, राम्ररी गराउनुस् । म हस्पिटलमा भनिराखुँला । तपाईंलाई कुनै समस्या नहोस् ।

देउवा – हुँदैन । तपाईं भएपछि के समस्या हुनु..हि..हि..हि.. 

मोदी – अनि छोरा के गर्दै छन् नि तपाईंको ?

देउवा – छोरा पनि ठीकै छ । सानोतिनो ठेकेदारी गर्छ । अब उसलाई पनि पोलिटिक्समै ल्याऊँ कि भनेर सोचिरहेको छु । 

मोदी – ए..धेरै राम्रो । गणेशमान, बीपी कोइरालाका सबै सन्तान पोलिटिक्समै छन् । तपाईंको सन्तान पनि ल्याउनुपर्छ । मेरो त कुनै सन्तान नै नभएर पो त । हा..हा..हा..

देउवा – हा..हा..हा...

मोदी – अच्छा, तपाईं हस्पिटल जाने टाइम भयो कि ?

देउवा – अँ, टाइम त भयो । डाक्टर नभेटिएला फेरि । 

मोदी – अच्छा त, उसोभए हस्पिटल जानुस् । केही समस्या परे फोन गर्नुस् । तपाईंसँग कुरा गर्न पाएर धेरै खुशी लाग्यो । 

देउवा – मलाई पनि धेरै खुशी लाग्यो । पहिले यसरी कुरा गर्न पाएको थिइनँ । 

मोदी – हुन्छ, अब कुराकानी बढाउँदै जानुपर्छ । नमस्कार ! 

देउवा – नमस्कार ! 
०००
मोदी भेटेर देउवा बाहिर आउनुभयो । बाहिर प्रतीक्षारत पत्रकारले सोधिहाले– वार्ता कस्तो भयो मन्त्रीज्यू ?

देउवा – वार्ता धेरै सफल भयो । मोदीज्यू हाम्रो धेरै ख्याल राख्नु हुँदोरहेछ । उहाँ हाम्रो धेरै नजिकको मित्र हुनुहुन्छ । ल त म गएँ है, डाक्टर छुट्ला फेरि ।
 

टिप्पणीहरू