हुर्रे ! टिकटक चल्यो !

हुर्रे ! टिकटक चल्यो !

बन्द भइरहेको टिकटक अचानक चल्न थाल्यो । टिकटक चलेपछि जनता पनि खुशी भएका छन् । जनतालाई खुशी बनाउने नै सरकारको काम हो । अब टिकटक चलेर जनता खुशी हुन्छन् भने त्यो चलाइदिने सरकारको कर्तव्य हो । त्यसैले पनि प्रधानमन्त्री केपी ओलीले टिकटक चलाइदिएको हो । 

जसले जे भने पनि अब टिकटक देशको सबैभन्दा ठूलो आवश्यकता बनिसकेको छ । देशमा बरु उद्योग कारखाना चलोस् नचलोस् कसैलाई मतलब छैन । टिकटकचाहिँ चल्नै पर्छ । यस्तो महत्वपूर्ण कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएर देखाइदिनुभयो । यो उहाँको महान् कार्य हो । 

प्रधानमन्त्री केपी ओली सरकारमा आए पनि चलाउन नसकेका कुरा धेरै छन् । जस्तोः न उहाँले बन्द भइरहेको विराटनगर जुट मिल चलाउनुभयो, न हेटौँडा सिमेन्ट कारखाना चलाउनुभयो, न जनकपुर चुरोट कारखाना चलाउनुभयो । केही पनि चलाउनुभएन । चलाएको भनेको यही टिकटक मात्रै हो । यदि, दाँजेरै हेर्ने हो भने उहाँले अरु त छोडिदिऊँ, देशै पनि चलाउन सक्नुभएको छैन । देश चलाउने कामसमेत उहाँबाट भइरहेको छैन । तर, देश चलाउन नसके पनि कोही बात छैन । किनभने देश नचलाए पनि टिकटक त चलाइदिएको छ । हामी जनतालाई पनि देश चलोस् नचलोस् मतलव छैन, टिकटकचाहिँ चल्नै पर्छ । हैन र ?
 

टिप्पणीहरू