आयोगद्वारा पाँचथर विष्फोटको निष्पक्ष छानबिन माग

आयोगद्वारा पाँचथर विष्फोटको निष्पक्ष छानबिन माग
सुन्नुहोस्

दुई बालकको ज्यान जानेगरी पाँचथरमा भएको बम विस्फोटको घटनाको सत्यतथ्य छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगले माग गरेको छ । 

हिजो दिउँसो फालेलुङ्ग गाउँपालिका–५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा बम विष्फोट हुँदा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको ज्यान गएको छ । घटनामा १० वर्षीय पवन राई र ७ वर्षीय दिपसन राई घाइते छन् । 

उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । आयोगका प्रवक्ता सहसचिव डा.टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै घाइतेको निःशुल्क र प्रभावकारी उपचारसँगै मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छन् । 

‘निर्दोष बालबालिकाको ज्यान जानेगरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र जथाभावी छोडिएका यस्ता विष्फोटक पदार्थहरु निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोग सरकारलाई निर्देशन गर्दछ’, विज्ञप्तिमा उल्लेख छ । 

उक्त बम सशस्त्र द्वन्द्वकालमा द्वन्द्वरत पक्षबाट जथाभावी छाडिएका विष्फोटक पदार्थ हुनसक्ने आशंका गरिएको छ । अहिले आयोगको कोशी प्रदेश कार्यालयले घटनाको अनुगमन गरिरहेको छ ।

‘विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ५.१.४ मा ‘दुवै पक्ष युद्धको समयमा प्रयोग गरिएका धराप तथा बारुदी सुरुङ्गहरुको रेखाङ्कन, भण्डारण तीस दिनभित्र एक अर्कालाई जानकारी दिने र साठी दिनभित्र निष्क्रिय र निर्मूल गर्न एक अर्कालाई सहयोग गर्नेछन्’ भन्ने उल्लेख गरिएको परिप्रेक्ष्यमा पाँचथरमा भएको विष्फोट द्वन्द्वकालमा द्वन्द्वरत पक्षबाट जथाभावी छाडिएका विष्फोट पदार्थ हुनसक्ने आशंका रहेको छ,’ आयोगले भनेको छ । 

शान्ति सम्झौता भएको अठार वर्ष हुन लाग्दासमेत न्यायको पखाईमा रहेका सशस्त्र द्वन्द्वकालका पीडितहरुले न्याय पाउन नसकेको र आयोगले पटक–पटक विष्फोटक पदार्थ हटाउन र त्यसको प्रगति जानकारी गराउन सिफारिस गरेकोमा विष्फोटको घटनाबाट बालबालिकाले ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना हुनु अत्यन्त दुःखद् रहेको आयोगले बताएको छ । 

केरुङका छोराछोरी र छिमेकी बालबालिकाले घर नजिकैको बारीमा फेला पारेको खिया लागेको वस्तु खेल्ने क्रममा विस्फोट भएको बुझिएको छ ।

टिप्पणीहरू