नारा लगाउँदा समातिए, छुटेपछि विदेश उड्ने तरखर
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा समातिएका तीनैजना छुटेका छन् ।
कार्यक्रम बिथोल्ने नियतका साथ हुलहुज्जत गरेको आरोपमा काठमाडौँ प्रहरीले कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका बुद्धराम भनिने गोपिकृष्ण जैसी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिएको थियो । उनीहरु आज धरौटीमा रिहा भएका हुन् ।
प्रहरीले तीनै जनाविरुद्ध म्याद थप गरी मुद्दा चलाउने तयारी गरिरहँदा संसददेखि सडकसम्म चर्को विरोध भएको थियो । नाराबाजी गरेकै आधारमा पक्राउ गर्नु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताविपरित भन्दै सांसदहरुले तत्काल रिहाईको माग गरेका थिए ।
पक्राउ परेका तीन जनामध्ये सुर्खेतका जैसी वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा छन् । टिकटसमेत काटिसकेका उनको उडान आइतबार तय भएको छ ।
टिप्पणीहरू