अख्तियारलाई निजि क्षेत्रको जिम्मा दिने तयारीप्रति ढकाल असन्तुष्ट

अख्तियारलाई निजि क्षेत्रको जिम्मा दिने तयारीप्रति ढकाल असन्तुष्ट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजि क्षेत्रको अनुगमन गर्न दिने तयारीप्रति नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असन्तुष्टि जनाएका छन् । 

निजि क्षेत्रमा हुने अनियमिततासमेत हेर्न पाउनेगरी अख्तियारको क्षेत्राधिकार बढाउन ऐन संशोधनको तयारी भैरहँदा उनको यस्तो धारणा आएको हो । अख्तियार र सतर्कता केन्द्रलाई निजि क्षेत्रका गतिविधिमाथि नियमन तथा नियन्त्रण गर्न दिईए अर्थतन्त्र ध्वस्त हुने ढकालको चिन्ता छ । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै उनले निजि क्षेत्रमा अख्तियार पसे लगानीकर्ताले सुरक्षित महसुस नगर्ने र त्यसले अर्थतन्त्र चलायमान हुन नसक्ने खतरा औंल्याए । रोजगारी सृजना गर्दै उत्पादन वृद्धिका लागि निजि क्षेत्रमाथि अनावश्यक नियन्त्रण गर्न नहुने अध्यक्ष ढकालको धारणा छ । 

‘अख्तियार र शतर्कता केन्द्र सम्बन्धी विषयमा त्यसमा पनि निजी क्षेत्रलाई हेर्नुपर्छ भन्ने हिसावले राखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई हेरिराखेको छ । भोलि अख्तियारको दायरामा सिधै हेर्ने बैंक तथा वित्तीय संस्था पर्ने हो भने सेन्टर बैंकको रेगुलेटरको भूमिका नियन्त्रण हुन्छ', उनले भने । 

अहिले अर्थतन्त्र सकारात्मक हिसावले अघि बढिरहेको भन्दै ढकालले यसलाई दिगो बनाउनुपर्नेमा जोड दिएका छन् ।

टिप्पणीहरू