धर्नाअघि न्यायपरिषदको दैलोमा घम्साघम्सी
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशनको अगुवाइमा कानुन व्यवसायीहरुले न्याय परिषद्मा धर्ना दिएका छन् ।
न्यायालय सुधारका लागि विभिन्न माग राख्दै बारका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले आज दिउँसो रामशाहपथस्थित न्यायपरिषद् कार्यालयमा धर्ना दिएको हो । न्याय परिषद् नियमावलीको पछिल्लो संशोधन खारेज गर्नुपर्ने, न्यायाधीश नियुक्ति पारदर्शी हुनुपर्ने लगायतका माग बारले राख्दै आएको छ ।
आफ्ना माग सम्बोधन गराउन आन्दोलनमा उत्रिएको बारले परिषद् अध्यक्ष र सदस्यहरुलाई कार्यालय प्रवेशमा रोक लगाउन आज धर्ना दिएको अध्यक्ष घिमिरेले बताए । त्यसक्रममा कानुन व्यवसायीहरुले 'गैरसंवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्त नगर', 'न्यायालयमा न्यायीक स्वच्छन्दता कायम गर', न्यायालयमा व्याप्त भ्रष्टाचार, बिकृति विसंगति अन्त्य गरी न्यायिक स्व्च्ता कायम गर' लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।
धर्नाअघि प्रहरी र कानुन व्यवसायीबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो । धर्नाका लागि परिषद् कार्यालयमा जान लागेका अध्यक्ष घिमिरेसहितका वकिललाई प्रहरीले गेटमै रोकेपछि दुई पक्षबीच ठेलाठेल भएको हो । तर, प्रहरीको घेरा तोडेर भित्र छिरेका वकिलहरूले प्रवेशद्वारमा उभिएर धर्ना दिए ।
अध्यक्ष घिमिरेले आफूहरुको मागलाई बेवास्ता गरेर परिषद्को बैठक बाहिर राख्ने कोशिस भए भोलिदेखि देशभर अदालती कामकारवाही ठप्प पार्ने चेतावनी दिएका छन् ।
टिप्पणीहरू