काठमाडौंका अधिकांशलाई ग्यास्ट्रिक, त्यसपछि पिनास र बाथ
काठमाडौं महानगरका अनुसार राजधानीमा बसोबास गर्दै आएका धेरैजसोको स्वास्थ्यमा ग्यास्ट्रिक अर्थात अम्लपित्तको समस्या देखिएको छ । महानगरले पछिल्लो एक महिनामा निःशुल्क वितरण गरेको औषधिको विश्लेषण गर्दा उक्त अवस्था देखा परेको छ ।
महानगरपालिकाको आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रले एक महिनामा सात सय बढीलाई निःशुल्क रुपमा आयुर्वेद औषधि वितरण गरेको छ । केन्द्रबाट साउन महिनाभरिमा सात सय २० जनाले निःशुल्क औषधि लिएका हुन् ।
सरकारले आधारभूत स्वास्थ्य सेवाका लागि निःशुल्क वितरणका लागि २३ प्रकारका आयुर्वेद औषधि तोकेको छ । हाल केन्द्रबाट २० प्रकारका त्यस्ता औषधि वितरण हुने गरेको छ । केन्द्रकी वैद्य निरीक्षक मञ्जुश्री ठाकुरका अनुसार सबैभन्दा धेरै ग्याष्ट्रिकको औषधिको माग हुने गरेको छ । त्यसपछि पिनास र बाथ रोगका बिरामी धेरै पुग्ने गरेका छन् ।
केन्द्रले आयुर्वेद चिकित्सकसहितको नियमित ओपीडी सेवा, अकुपङ्चर सेवा, योग, परामर्शसहित आरोग्य जीवनसँग सम्बन्धित परामर्श र स्वास्थ्य प्रवद्र्धन सेवाको पनि तयारी गरिरहेको बताएको छ । निःशुल्क आयुर्वेद औषधि वितरण गर्न महानगरले बबरमहलस्थित वडा कार्यालयको भवनको भुईं तलामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रको स्थापना गरेको छ ।
टिप्पणीहरू