हिन्दू धर्मावलम्बीहरु घरमा कुश भित्र्याएर बाबुको मुख हेर्दै
आज अर्थात् भाद्र कृष्ण औँसीका दिन कुशेऔँशी पर्व मनाईंदै छ । वैदिक सनातन धर्मावलम्बीले आज वर्षभरि देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउँछन् । गुरु पुरोहितहरुले आफ्ना यजमानहरुको घरमा कुश लिएर जाने चलन पनि छ ।
यो परम्परा अझै पनि गाउँ सहरमा छ । सोही अवसरमा हिजो राजधानीको बसन्तपुर दरबार क्षेत्रमा कुश किन्ने र बिक्री गर्नेको बाक्लो उपस्थिति देखिन्थ्यो । धादिङ, नुवाकोट तथा मकवानपुरका विभिन्न स्थानबाट बिक्रीका लागि काठमाडौं ल्याइएको कुश प्रतिमुठा एक सयदेखि दुई सय रुपैयाँसम्ममा बिक्री गरेको देखिन्थ्यो ।
हिन्दू धर्मावलम्बीहरुले आजको दिनलाई बाबुको मुख हेर्ने पर्वको रुपमा मनाउँदैछन् । आफ्ना पितालाई मिठा खानेकुरा र वस्त्र दिने चलन छ । स्वर्गीय पिताको सम्झनामा राजधानीकाे गोकर्णेश्वर पुगेर दान तथा धार्मिक कार्यमा सरिक हुनेहरू पनि उत्तिकै छन् ।
तस्बिरहरु
टिप्पणीहरू