दुईवटा होलिकोप्टर आकस्मिक अवतरण : एउटामा श्रीमतीसहित मुख्यमन्त्री, अर्कोमा सुत्केरी
रुकुमपश्चिमको आठबिसकोटमा सुत्केरी बोकेको एउटा हेलिकोप्टर आकस्मिक रुपमा अवतरण गरिएको छ । डोल्पाबाट सुत्केरी बिरामी बोकेर उडेको हेलिकोप्टरलाई स्थानीय रंगशालामा अवतरण गराइएको छ ।
खराब मौसमको कारण आठबिसकोट नगरपालिका ९ राडिमा अवतरण गराइएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले बताए । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाकी सुत्केरी पदमीकुमारी बुढालाई हेलिकोप्टरमा सुर्खेत लैजाने क्रममा त्यहाँ अवतरण गराइएको हो ।
सुत्केरीपछि साल ननिस्केको र रक्तश्राव अत्यधिक भएपछि उनलाई सुर्खेत लगिएको थियो । तर, आठबिसकोट नगर अस्पतालका स्वास्थ्यकर्मीहरुले हेलिकोप्टर अवतरण गरिएको स्थानमा पुगेर सुत्केरीको उपचार गरिएको छ ।
त्यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर पनि आकस्मिक अवतरण गरिएको छ । प्रहरीका अनुसार कँडेले पनि डोल्पाबाटै आएका थिए । मौसम खराबपछि सिम्रिक एअरको हेलिकोप्टर सोही स्थानमा आकस्मिक अवतरण गरिएको हो ।
हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलसहित उनीकी श्रीमती, त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाय, सुरक्षा गार्ड र चालक थिए । उनी डोल्पाको एउटा मेला अवलोकन र त्रिपरासुन्दरी मन्दिर दर्शन गर्न गएको बुझिएको छ ।
टिप्पणीहरू