सार्वजनिक बिदामा अस्पतालको अनुगमन गर्न निर्देशन
अबदेखि सार्वजनिक बिदाका दिन अस्पतालहरुको बहिरंग सेवा प्रवाहबारे अनुगमन गरिने छ । सार्वजनिक बिदामा अस्पतालहरुले बहिरंग सेवा प्रवाह नगरेको व्यापक जनगुनासोपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुगमन व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
गृह मन्त्रालयद्वारा जारी सूचना १ को प्रकरण १० (सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था) को उपप्रकरण १०.१ को खण्ड (न) मा सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्नुपर्ने व्यवस्था छ । तर, अधिकांश निकायबाट सार्वजनिक बिदामा स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको जनगुनासो आएको उल्लेख छ ।
पत्रमा लेखिएको छ, ‘मिति २०८०/१०/२९ गते प्रकाशित गृह मन्त्रालयको सूचना १ को प्रकरण १० (सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था) को उपप्रकरण १०.१ को खण्ड (न) मा सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवासमेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकोमा सोबमोजिम अब उपरान्त नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम उल्लिखित उपप्रकरण १०.१ को खण्ड (न) बमोजिम सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय, प्रचारप्रसाद र अनुगमन गर्ने व्यवस्थाको लागि अनुरोध छ ।’
टिप्पणीहरू