सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा
जिल्ला प्रशासन कार्यालय, पर्साले सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने तयारी थालेको छ । जिराभवानी गाउँपालिका–४ मा रहेको उक्त कार्यालय बन्द भएको एक वर्षपछि सञ्चालनमा ल्याउन लागिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले आगामी आइतबारदेखि पुनः सुपौलीबाट सेवा सुचारु गर्ने जानकारी गराएका छन् । जारी सूचनामा भनिएको छ, ‘साविकका इलाका प्रशासन कार्यालय, सुपौलीबाट प्रवाह हुने सेवाहरु यस जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएकोमा सुपौलीको आफ्नै प्रशासनिक भवन निर्माण भएकाले त्यहाँबाट प्रवाह हुँदै आएका सेवाहरु भदौ २३ गतेबाट पुनःसुचारु हुने जानकारी गराइन्छ ।’
घरदैलोमा आम नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले सरकारले २०७५ पुस ११ गते सुपौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरेको थियो । सेवा स्थगित हुँदा जिल्लास्थित ग्रामीण भेगका नागरिकहरुलाई निकै सास्ती हुँदै आएको स्थानीयको गुनासो छ ।
टिप्पणीहरू