मुकुलपछि संकटमा निशा: कान्छी सांसद्लाई किन दिइयाे जेठो जिम्मेवारी?

मुकुलपछि संकटमा निशा: कान्छी सांसद्लाई किन दिइयाे जेठो जिम्मेवारी?
सुन्नुहोस्

रास्वपा सचेतक निशा डाँगीको जिम्मेवारी खोस्नुपर्ने कानेखुशी दलभित्र फैलिँदा घण्टीमा रमिता छ । एकताका संसदीय र दलीय मोर्चामा शक्तिशाली मानिएकी उनी अहिले सबैतिरबाट एक्लिएकी छन् । समानुपातिक सांसद निशालाई संसदीय दलको सचेतकबाट हटाउनुपर्ने माग तीव्र रुपमा उठिरहेको छ ।

मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकमा अर्को एउटा विषयले पनि चर्चा पाएको छ । सभापति रवि लामिछानेका अनेकौँ काण्ड खोतलिरहेका निलम्बित महामन्त्री मुकुल ढकाललाई ‘गोप्य सूचना चुहाइरहेको’ प्रसंग । सहप्रवक्ता रमेश प्रसाईंले पार्टीकै जिम्मेवार मित्रलाई जासुस खटाएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनी बोलिरहँदा सबैजसो सदस्य मौन थिए, एकअर्कालाई हेरिरहेका थिए ।

बैठकमा सांसद सोविता गौतम, तोसिमा कार्की र सहमहामन्त्री विपिनकुमार आचार्यले कतिपय जिम्मेवारी हेरफेर गर्नुपर्ने भनाइ राखेको उपसभापति डिपी अर्यालनिकट एक केन्द्रीय सदस्यको दाबी छ । आउँदो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट अर्को व्यक्तिलाई सचेतक पदको जिम्मेवारी सुम्पिनुपर्ने एकथरी नेताहरूको तर्क छ । घण्टी स्रोतका अनुसार निशाको पक्षमा एक जना सांसद मात्रै छन्, उनी हुन् जुम्लाकी विनिता कठायत । विनिताबाहेक कोही पनि निशाबारे सकारात्मक छैनन् । ‘निशालाई हटाउँदा राम्रो म्यासेज जाँदैन, अहिले यस्तो काम गर्नुहुँदैन,’ विनिताले भनिन्। रोचक कुरो— निशालाई किन पेल्न खोजिँदै छ अहिले ? यसको सही जवाफ— सुमना, सोविता, तोसिमा, ज्वाला, प्रतिभा, सविना र क्रान्तिशिखाले मात्रै जान्दछन् । त्यसकारण उनीहरू ‘उचित समयमा, उचित कदम’ चाल्नुपर्ने बताउँछन् । नेतृत्वलाई ज्वालाहरूको गम्भीर प्रश्न छ, ‘कान्छी सांसदलाई किन दिइयो जेठो जिम्मेवारी ? यसको समीक्षा गरिनुपर्दैन ?

प्रतिनिधिसभा बैठक समाचार पढ्ने थलो हो ? सांसद भएपछि संसदीय भूमिका निभाउनुपर्दैन ? स्रोत भन्छ, पार्टीभित्र आ–आफ्नै दाउ खेलिरहेका छन् नेता । सबैका स्वार्थ छन्। ‘भाइरल म्यान’ प्रसाईं पनि झापाली सांसद निशाको जिम्मेवारी खोस्ने पक्षमै छन् । कतिले भडास् पोख्दैछन्, कतिले कुण्ठा ! कतिपयचाहिँ मुकुल ढकालको छायासमेत देख्न चाहँदैनन् ।

निशामाथि अर्को पनि आरोप छ । रवि लामिछाने र निलम्बित महामन्त्री मुकुल ढकालको एउटै मुख हुँदा उनले पार्टीभित्र एकपछि अर्को रहरलाग्दो जिम्मेवारी पाइरहिन् । कतिसम्म भने एकाएक सचेतकको जिम्मेवारीमा उक्लिएपछि सोविता र तोसिमाबाट नमस्कारको अपेक्षा गर्थिन्, आफूलाई वरिष्ठ ठान्थिन् र बेलाबेला ‘यसो गर्नू, उसो गर्नू’ भन्दै संसद बैठकअघि निर्देशन दिन्थिन् । ‘निशाको रवैयाले सीमा नाघ्दै थियो, अहमता बढ्दै थियो,’ रास्वपाकी एक केन्द्रीय सदस्य भन्छिन्, ‘चुनाउ जितेर आएका सिनियरहरूले अपमान महसुस गरिरहेका थिए । तैपनि, महामन्त्रीको दह्रो साथ थियो । अब त्यो अवस्था छैन !’ रविइतर समूहका एकथरी नेता भन्छन्– त्यतिखेर मुकुल ढकाल सचेतक निशामार्फत संसदका अन्य सदस्यमाथि रवि लामिछानेको हैकम लाद्थे । तर, सचेतक निशा भने आफूमाथि लागेका यी सबै आरोप एकमुष्ट रुपमा खारेज गर्छिन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू