जनप्रतिनिधिहरुको लगातारको प्रश्नबाट उम्किँदै बालेनले भने : बैठक सकियो

जनप्रतिनिधिहरुको लगातारको प्रश्नबाट उम्किँदै बालेनले भने : बैठक सकियो
सुन्नुहोस्

काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले कार्यपालिकाको जारी बैठकलाई जर्बजस्ती अन्त्य गराएका छन् । आजको बैठकमा जनप्रतिनिधिहरुले अनेकौं प्रश्न तेर्सायाएपछि एकाएक बैठक सकिएको घोषणा गरेर उनी त्यहाँबाट हिँडेका हुन् । 

बालेनले केही दिनअघि सर्वोच्च अदालतको हवाला दिँदै बागमती, विष्णुमती र टुकुचाको २० मिटर वरपरलाई निर्माण निषेधित क्षेत्र घोषणा गरेका थिए । साथै, उनले महानगरबाट हाल भइरहेका निर्माण कार्य रोक्का गर्ने पनि निर्णय गरिएको बताएका थिए । 

तर आजको कार्यपालिका बैठकमा जनप्रतिनिधिहरुले बिनाछलफल सूचना प्रकाशित गरिएकोमा आपत्ति जनाएका हुन् । उपमेयर सुनिता डंगोलले हतारमा एक्लै निर्णय गरेर आफैं बाख्या गर्ने काम बन्द गर्न बालेनलाई आग्रह गरिन् । जनप्रतिनिधिहरुसँग छलफल नै नगरी सूचना प्रकाशित गर्दा लाखांै जनता त्रसित भएको सुनिताको दाबी छ ।

‘कुनै सूचना होस् वा निर्णय, त्यसमा हामी जनप्रतिनिधि सबैको छलफल भएपछि मात्र जनतालाई बुझाउन सक्छौं । तर अहिले त्यो बुझाउन नसकिने अवस्था छ’  उनले भनिन्, ‘हतारमा एक्लै निर्णय गर्ने, हतारमा सूचना प्रकाशित गर्ने, अनि त्यसलाई फेरि आफैं व्याख्या गर्ने काम नगरौँ ।’

मेयर बालेनले हतारमा सूचना प्रकाशित गरेकै कारण जनताले महानगरको कार्यालयमा अगाडि विरोध गर्न थालेको डंगोलको भनाई छ । एकलौटी निर्णयले पद्दतीलाई बिथोल्ने उनको तर्क छ । 

‘जनता अहिले आतंकित र आक्रोशित छन् । हिजो–अस्तिमात्रै महानगरको अफिसमा आएर, ठाउँ–ठाउँमा विरोध गरिरहेका छन्’, उनले थपिन्, ‘प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ । तर प्रमुखज्यूले सूूचना प्रकाशित गरेपछि बल्ल हामी जनप्रतिनिधि सुसूचित हुने यो पद्धती कदापी राम्रो होइन ।’ 

त्यस्तै वडा नम्बर २२ का वडाध्यक्ष चीनकाजी महर्जनले पनि मेयर बालेनलाई सूचना तत्काल फिर्ता लिन आग्रह गरे । नगरप्रमुखले समग्र महानगरको अभिभावकत्व लिनुपर्नेमा उल्टो भूमिका निभाएको उनको आरोप छ । 

‘सम्पूर्ण जीवन लगाएर आफ्नो बास बनाएकाहरुलाई यसले कति प्रभाव पार्छ, त्यो नगर पिताले ख्याल गर्नुपर्दैन ?’, उनले भने, ‘८० हजारभन्दा बढी जग्गाधनीहरुको उठिवबास हुने अवस्था छ, लाखौं जनता समस्यामा पर्ने देखिएको छ । यस्तो सार्वजनिक विषयलाई हल्का रुपमा नलिऔं । यो सूूचना तुरुन्त फिर्ता लिन म प्रस्ताव राख्छु ।’

जनप्रतिनिधिहरुले लगातार प्रश्न सोधेपछि मेयर बालेलले एकाएक जानकारी दिए, ‘बैठक सकिएको घोषणा गर्दछु, धन्यवाद ।’

टिप्पणीहरू